मंसिर २४ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टी सभापति सुशील कोइराला नेतृत्वको सरकारको कार्यशैली चित्तबुझ्दो नभएकोभन्दै आलोचना गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको भए पनि मनोमानी ढङ्गबाट चलेकोभन्दै केनद्रीय सदस्यहरुले आलोचना गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा केन्द्रीय सदस्यहरु प्रदीप गिरी, प्रकाशसरण महत लगायतका नेताले संविधान निर्माणमा केन्द्रित नभई नगरपालिका घोषणातर्फ लाग्नु बेठीक भएको बताउनु भएको थियो । पर्याप्त गृहकार्य नगरी हचुवाको भरमा नगरपालिका घोषणा गरेको भन्दै केन्द्रीय सदस्यहरुले स्थानीय विकासमन्त्री प्रकासमान सिंह पनि आलोचना गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । नेता महतका अनुसार संविधान निर्माण र सरकार सञ्चालनमा पनि सीमित नेताको मात्र सक्रियता देखिनु सुहाउँदो नभएकोभन्दै आलोचना भएको थियो । भोलि बिहान साढे बजे फेरि बस्नेगरी केन्द्रीय समिति बैठक स्थगित गरिएको छ ।