स्वस्थ परिकार खुवाउन भनेका छौँ

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २४, २०७१

राजकुमार प्याकुरेलदेशका विभिन्न ६८ जिल्लाबाट राजधानी छिर्ने मुख्य नाका अर्थात् पृथ्वी राजमार्ग तथा धादिङ जिल्लामा सञ्चालनमा अएका होटलहरुको अवस्थाको विषयलाई लिएर कान्तिपूर होटल खयरघारीका सञ्चालक तथा जिल्ला होटल संघ, धादिङका अध्यक्ष श्री राजकुमार प्याकुरेलसँग हाम्रा सहकर्मी राजन अधिकारीले गर्नुभएको कुराकानीको केही अंश ः

– हाल धादिङका होटलहरुको अवस्था कस्तो छ ?

जिल्ला भित्र रहेका होटलहरु अहिले पहिलेका भन्दा धेरै फरक छन् । बिस्तारै अहिले पछिल्लो चरणमा सुधारिएका छन् । पछिल्लो चरणमा पहिलेको जस्तो जनगुनासाहरु पनि कम हुँदै गएका छन् । गुणस्तरियतामा बृद्धि भएका छन् समग्रमा हेर्ने हो भने सन्तोषजनक नै छ ।

– धादिङ जिल्लामा कति होटलहरु छन् ?

यति नै भन्न त निकै गाह्रो कुरा हो । जिल्लाभरको कुरा गर्ने हो भने त धेरै होटलहरु छन्, तर हाम्रो होटल ब्यवसायीको छाता संस्था जिल्ला होटल संघमा आवद्ध होटलहरु २२० को हाराहारी छन् । संघमा दर्ता नभएकाहरुको यकिन डाटा संकलन भइरहेको छ । केही समयपछि सबै होटलहरुको विवरण चुस्त बनाउने प्रयास भइरहेको छ ।
– जिल्ला होटल संघले कस्तो गतिविधीहरु सञ्चालन गरिरहेको छ ?

मुलतः जिल्लाका होटल र होटल व्यवसायीहरुको हक हितको निम्ति आवाज उठाउने र लड्ने एउटा ब्यवसायीको साझा थलो जिल्ला होटल संघ भएकाले जिल्लामा रहेका होटलहरुको विकास तथा प्रवद्र्धनमा विशेष गरि कार्यक्रमहरु सञ्चालन गर्ने साथै यात्रुको गुनासालाई कसरी समाधान गर्दै जाने भन्ने तिर हामी अहिले केन्द्रित भएका छौँ । फलस्वरुप परिणाम पनि निकै नै राम्रो आएको छ ।

– के यात्रुले राजमार्ग क्षेत्रमा ढुक्क भएर अब खाना नास्ता गर्न सक्लान् ?

तपाईंले भनेजस्तै यो सबैको जिज्ञासाको कुरा हो । हो हामीले संघको तर्फबाट पनि सम्पूर्ण व्यवसायी मित्रहरुलाई भनेका छौं की सफा र स्वस्थबद्र्धक परिकार मात्र बेच्नु र खुवाउनु भनेका छौं । अर्काे कुरा पहिलेको तुलनामा अहिले धेरै सुधार आईसकेका छन् । मूल्य समायोजन लगायतका कुराहरुमा पनि एक रुपता ल्याउने हाम्रो प्रयास जारी छ ।

– तपाईंहरुकोमा भएका मेनुमा महंगी भयो भन्ने गुनासो छ नी ?

अन्तको तुलनामा त्यति धेरै महंगो त छैन तै पनि हामी कहाँ गाडी ल्याएर नरोकी ब्यापार हुने स्थिति नै छैन, त्यस पछि यहाँ हामीले अन्य धेरै सुविधा पनि त दिएका छौं त्यसैले अलि महंगो हुन पुगेको हो । सेवा र सुविधाको तुलना गर्ने हो भने यहाँको होटलहरुमा राखिएको मेनुको मुल्य महंगो छ जस्तो लाग्दैन ।

– भविष्यमा धादिङ जिल्लामा होटलहरुको विकासको सम्भावना र योजना के छन् ?

पक्कै पनि हाम्रो धादिङ जिल्लामा पर्ने पृथ्वी राजमार्ग जुन देशका ६८ जिल्ला मानिसहरु आवतजावत गर्ने गर्छन् । देशको मुख्य राजधानी काठमाण्डौं छिर्ने नाका नै हाम्रो राजमार्गमा हो । यस क्षेत्रमा होटल ब्यवसाय राम्रो फस्टाउन सक्छ । तर यहाँ हामीले प्रदान गर्ने सेवा भने पक्कै पनि गुणस्तरिय र सन्तुष्टि प्राप्त गर्ने खालकै हुनुपर्छ । राजमार्ग मात्रै होइन मुख्य नाकाको जिल्ला भएकाले यहाँका अन्य क्षेत्रमा पनि होटलहरुको विकासमा त्यत्तिकै सम्भावनाहरु छन् । धादिङका पर्यटकीय क्षेत्र तथा त्रिशुली नदिमा ¥याफ्टिङको सम्भावनासँगै नदिका आसपासमा विश्राम स्थल तथा खाजा नास्ताको ब्यवस्था मिलाउन सकिन्छ । साथै अन्य सम्भावनाहरु पनि छन् । सबै पक्षहरुले आ–आफ्नो क्षेत्रको विकास गर्दै जाने हो भने यहाँ लाखौं करोडौं मान्छेहरु कुन न कुनै रुपले आउने र खर्च गर्न लालायित हुन्छन् यसर्थ जिल्लामा बसेर हामीले प्रदान गर्ने सेवालाई दिर्घकालीन रुपमा गुणस्तरिय पार्नु नै हाम्रो मुख्य काम हो अब सबै व्यवसायीहरु त्यतातिरै लाग्नुपर्छ ।

– अन्तमा के भन्नुहुन्छ ?

राजमार्ग क्षेत्र पहिलेका तुलनामा धेरै सुधारिएका छन् । यात्रुहरु निर्धक्क भएर खाना नास्ता गर्न सक्ने अवस्था अहिले सिर्जना भएको छ । अझ फेरी केही गडबड हुन गयो भने जिल्ला होटल संघ धादिङ जिल्ला प्रशासन कार्यालय धादिङसँग समन्वय गरेर अनुगमन गर्न तयार छ । साथै यात्रु खुसी पार्ने कुरामा हामी कुनै कसुर बाँकी राख्न दिने छैनौँ । याहाँको जनमुक्तिमार्ग साप्ताहिक तथा तपाईप्रति पनि होटल ब्यवसायीका कुरा राख्ने अवसर दिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु । धादिङ जिल्लाका होटलहरुबाट सेवा लिँदा वा अन्य क्रममा कुनै समस्यामा पर्नुभयो भने जिल्ला होटल संघको कार्यालयमा सम्पर्क गरेर सहयोग लिन पनि अनुरोध गर्दछु । हामी नाफा मात्रै कमाउने होइन सेवा पनि दिने काम गरिरहेका छौं । सिमित समस्याहरुलाई लिएर सबै त्यस्ता छन् भनेर नबुझ्न आग्रह गर्छु । धन्यवाद !