सिपी गजुरेल स्थायी समिति सदस्य नेकपा क्रान्तिकारी माओवादी
क्रान्तिकारी माओवादी हुँदाहुँदै देशभक्त जनतान्त्रिक मोर्चा (देजमो) नामको अर्को संगठन बनाउनुभएको छ । यस्तो समानान्तर दुई संरचना किन बनाउनुपर्यो ?
देजमोलाई संयुक्त क्रान्तिकारी मोर्चाको रूपमा स्थापित गरेका छौँ । यस्तो मोर्चालाई माओले क्रान्ति सम्पन्न गर्ने तीन जादुगरी हतियारमध्ये एक भन्नुभएको छ । चीनमा त्यो सफल पनि भयो । माओवादी जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको लामो समयसम्म मोर्चा बनाइएको थिएन । जनयुद्धअघि सयुक्त जनमोर्चा थियो । शान्ति प्रक्रियापछि क्रान्तिकारी सयुक्त मोर्चा बन्न सकेन । हामीले फरक पार्टी बनाएपछि अब क्रान्तिको कार्यभारलाई पूरा गर्नुपर्छ भनेर क्रान्तिकारी सयुक्त मोर्चा गठन गर्यौँ । गत चैत २४ गते प्रथम राष्ट्रिय सम्मेलन पनि भयो ।
तपाईंहरूको पार्टीको सार्वजनिक उपस्थित कम हुँदै गएको देखिन्छ । पार्टीभन्दा मोर्चा हाबी हुँदै गएको हो ?
बाहिरबाट हेर्दा मोर्चा हाबी भएजस्तो देखिन्छ । जनवर्गीय मोर्चाको पनि त्यसैले नेतृत्व गरेको हुन्छ । आवरणमा मोर्चा देखिन्छ । पार्टी विस्तारै भूमिगत हँुदै जाने भएकाले बाहिर कम देखिँदै जान्छ । पार्टीले त नेतृत्व गर्ने भएकाले पार्टीलाई क्रस गरेर जाने भन्ने हुँदैन ।
तपाईंहरूको पार्टी आफूले चुनाव जित्ने अवस्थामा उपयोगमा जाने,तर हार्ने स्थिति देखिए बहिष्कार गर्ने नीति लिएको हो ?
प्रतिक्रियावादी राज्यसत्ताले गराउने चुनावलाई क्रान्तिकारी पार्टीले कार्यनीतिको विषय बनाउछ । जित्ने र हार्ने दोस्रो कुरा हो । पहिलो कुरा चुनावलाई उपयोग गर्न आवश्यक छ कि छैन भन्ने हुन्छ । पार्टीले निर्वाचनलाई उपयोग बहिष्कार जुन गरे पनि माध्यम क्रान्तिकारी मोर्चालाई बनाउनुपर्छ । हामीले यसअघिको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन जित्छौँ भनेर लागेकै थिएन । त्यो वेला हामीले भनेकै थियाैँ कि यो प्रतिक्रियावादी सत्तामा जुन पार्टीले प्रतिनिधित्व गरेका छन्, त्यसलाई भण्डाफोर गर्ने हो । त्यो चुनावलाई उपयोग गरेर भण्डाफोर गर्यौँ । चुनाव उपयोग गर्दा मञ्चलाई प्रयोग गर्न पाइन्छ । मञ्चमा बोल्ने कुरा हाम्रो हातमा हुन्छ । चुनाव जित्नका लागि उपयोग गरेको होइन । हामीले स्थानीय तहमा त्यस्तै पाँचदेखि सात सिट जित्यौँ, त्यति नै हो । प्रदेश र प्रतिनिधिसभामा जित्दै जितेनौँ । जित्नका लागि चुनावमा गएको भए एलाइन्स गर्ने थियौँ । गरेनौँ । प्रतिक्रियावादी सरकार र संविधानको भण्डाफोर भयो । अहिले अरूले नै भण्डाफोर गर्न थालेपछि हामीले नगरे पनि हुने भयो । यसैले यस पटकको उपनिर्वाचनमा भाग नलिने सोचेका छौँ ।
तपाईंहरू सत्तारुढ नेकपासँग पनि मिल्न सक्नुभएको छैन । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग पनि नजिक हुनु हुन्न, किन ?
सत्तारुढ नेकपा वास्तवमा बढी एमाले नै हो । एमालेमा माओवादी मिसिएपछि नेकपा बनेको छ । एमालेलाई हामीले संशोधनवादी धेरै पहिलेदेखि नै भन्दै आएका छौँ । हामीले जनयुद्ध सुरु गरेको एमाले सत्तामा हुँदाहुँदै हो । अझ त्यसभन्दा बढ्ता विचलनमा गइरहेको छ । दक्षिणपन्थीसँग हामी मिल्ने भन्ने कुरै भएन । डबल नेकपासँग एकता गर्ने कुरा कम्युनिस्ट पार्टीसँगको एकता हुँदै होइन । त्यसबारे हामीले सोच्दै सोच्दैनौँ । विप्लवजीहरू हामीबाटै अलग हुनुभएको हो ।
अलग नहुनुुस् भनेका थियाैँ । मान्नुभएन । उहाँहरू अलग नभएको भए अहिले परिस्थिति बेग्लै हुन्थ्यो । उहाँको सही नीति र कार्यदिशा थियो भने सँगै बसेर काम गर्न सकिन्थ्यो । उहाँहरूको कार्यदिशा अस्पष्ट छ । एकीकृत जनक्रान्ति भन्नुहुन्छ, त्यो के भनेको हो ? उहाँका केही साथीले सहादत प्राप्त गरिसक्नुभयो, तर उहाँहरूले सशस्त्र संघर्ष सुरु गरेकै होइन भन्नुहुन्छ । पुलिस र सेनासँग लड्ने नै होइन भन्नुहुन्छ । कर्मचारीतन्त्रसँग लड्ने होइन भन्नुहुन्छ । खालि भ्रष्टाचारीलाई कारबाही गर्ने भन्नुहुन्छ । भ्रष्टाचारीलाई कारबाही गर्न कम्युनिस्ट पार्टी नै चाहिँदैन । संशोधनवादी, सुधारवादीहरूले पनि कारबाही गर्छन् । कारबाही गर्न अख्तियार छ, प्रहरी प्रशासनलगायत थुप्रै संस्था छन् । भ्रष्टाचारीकै लागि हतियार उठाउनुपर्ने जरुरी छैन । त्यसकारण उहाँ आफैँ अस्पष्ट हुनुहुन्छ । मित्रशक्ति र दुस्मन शक्तिको कुनै विश्लेषणै छैन । यो ढंगले देशमा क्रान्ति हुन सम्भव छैन । कार्यदिशा नै स्पष्ट नभएपछि केका लागि पार्टी एकता गर्ने ? उहाँहरूमा स्पष्टता छैन । विप्लवहरूको काम अँध्यारोमा ढुंगा हानेजस्तै छ ।
संसद्बाहिरका शक्तिसँग कार्यगत एकता गर्न खोज्नुभएको थियो । अहिले त सबै लाखापाखा लागे त ?
विप्लवजी, माले, मसाल, कट्टेलजी, हामी (क्रान्तिकारी माओवादी) मिल्दा कार्यगत एकता राम्रो र ठूलै भयो । विप्लवजीको पार्टीमा प्रतिबन्ध लागिसकेपछि खुला कार्यक्रममा आउन सक्दिन भन्नुभयो । नीतिगत भिन्नता केही थिएन, उहाँ अलग हुनुभयो ।
मसालको सरकारलाई हेर्ने दृष्टिकोण प्रस्ट भएन । उहाँहरू यसलाई मूलतः वामपन्थीहरूको सरकार भन्नुहुन्छ । वामपन्थीको सरकारलाई वामपन्थीले सहयोग पो गर्नुपर्छ भन्ने देखियो । उहाँहरूको यहाँनिर अस्पष्टता छ । संविधान ठिकै हो, तर संघीयता हुनुहुँदैन भन्नुहुन्छ । मालेका साथीहरूले विप्लवजीको पार्टीमा प्रतिबन्ध लागेपछि हामीलाई पनि आरोप लगाउँछन् भनेर बस्न मान्नुभएन । हामीले अहिले पनि अरू घटकसँग कोसिस गरिरहेका छौँ ।
शक्तिमा आउन पनि नसक्ने, अरू पार्टीसँग एकतामा जान पनि नसक्ने, विचारको रक्षाको मात्रै कुरा गर्ने पार्टी हुने भयो हैन, क्रान्तिकारी माओवादी ?
त्यस्तो होइन । किनभने विचारको रक्षा पहिलो सर्त हो । डबल नेकपाजस्तो विचार केही नराख्ने, संगठन मात्रै ठूलो बनाउने र सरकारमा मात्र जाने हो भने त्यस्तो कम्युनिस्ट के काम लाग्यो र ? केवल विचारको मात्रै रक्षा गरेर बस्ने कम्युनिस्ट पार्टीको पनि काम छैन । कम्युनिस्ट पार्टी खोलेको समाज परिवर्तन गर्न हो । शोषणबाट देशलाई मुक्त पार्न हो । सामाजिक रूपान्तरण गर्न हो । विचारको मात्र रक्षा गर्ने हो भने कम्युनिस्ट पार्टीको सिद्धान्त पूरा हुँदैन । यसका निम्ति हामीले प्रयत्न गरिरहेका छौँ । आन्तरिक रूपमा संगठन विस्तार गरिरहेका छौँ । स्वतन्त्र पहलमा काम गरिहेको छौँ । कार्यगत एकताक लागि पनि प्रयत्न गरिरहेका छौँ । हामीलाई के लागेको छ भने, अहिले हाम्रो शक्ति कमजोर देखिन्छ । तर, जनताले विकल्प खोजिरहेका छन् । हाम्रो विकल्प बनिसकेको छैन ।
हामीले विस्तारै विकल्प बन्ने प्रयास गरिरहेका छौँ । आफ्नै खुट्टामा उभिएर संघर्ष आन्दोलनका काम गर्दै छौँ । जनतामा विस्तारै प्रभाव बढ्दै गएको छ । हामीमा विकल्प बन्ने आधार छन् । ढिलोचाँढो अगाडि बढ्ने भनेको क्रान्तिकारी शक्ति नै हो । के विश्वास छ भने ढिलोचाँडो हामी नै विकल्प बन्छौँ ।
त्यत्रो माओवादी आन्दोलन अनेक चिरामा टुक्रिँदा कस्तो लाग्छ ? यस्तो कहिल्यै कल्पना गर्नुभएको थियो ?
यो चिन्ताको विषय हो । हाम्रो जीवनको महत्वपूर्ण समय त्यसमै गयो । हामीले सेना बनायौँ । जनसरकार सञ्चालन गर्यौँ । राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा जनयुद्धले तहल्का मच्चायो । सहर कब्जा गर्ने योजना बनायौँ । त्यो अवस्थामा पुगेको जनयुद्धलाई आन्तरिक रूपमा विश्वासघात गरेर सिध्याइयो । हारेर यो अवस्था आएको भए कसैलाई दोष दिन मिल्दैनथ्यो । भित्रैबाट विश्वासघात र गद्दारी हुँदा जनताको सहानुभूति लिन गाह्रो हुँदो रहेछ । अहिले त्यही समस्या भइरहेको छ । जनताले ‘भो छोड्दिनुस् यो हुदैन’ भन्छन् । अहिले कोही प्रधानमन्त्री, कोही मन्त्री बने, अकुत सम्पत्ति कमाए, हामीलाई के भयो, भन्छन् जनता । फर्केर हेर्दा जसले विश्वासघात गरे, उनीहरूप्रति घृणा जागेर आउछ । फेरि पनि अरू उपाय छैन । चिन्ता गरेर जिम्मेवारी पूरा हँुदैन । शोषण, अत्याचार, महँगी, तस्करी झन् बढ्दै छ । भ्रष्टाचार, बेरोजगारी झन् बढ्दै छ । देशै नरहने हो कि भन्ने स्थिति छ ।
सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
यो सरकारले मूलतः दलाल, सामन्त र पुँजीपति वर्गको संरक्षण गर्छ । यस्तो वर्गको प्रतिनिधित्व गर्ने सरकारलाई समाजवादतिर उन्मुख भनिएको छ । मानिसले खिल्ली उडाउँदै गएका छन् । समाजवादको विषय खिल्ली बनेको छ । यो समाजवाद हुँदै होइन, नभएको कुरालाई समाजवाद भनेर बदनाम गरियो । यो कम्युनिस्ट पार्टी पनि होइन । हामीले त एमालेलाई पहिल्यै कम्युनिस्ट होइन भनेकै हौँ । अहिले माओवादीको एउटा समूह त्यसैमा विलय भएको छ । केही दिनअघि प्रचण्डले नै भनेछन्– हामी कम्युनिस्टजस्ता छैनौँ । नयाँ पत्रिकाबाट साभार