कांग्रेस धादिङ देउवा पक्षको सभापतिमा गोपाल विश्वकर्मालाई बनाउने तयारी, घोषणा तिहारपछि

Avatar photo
Dhadingpost
कार्तिक १९, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङको देउवा पक्षधरको १५औँ जिल्ला अधिवेशनबाट गोपाल विश्वकर्मालाई जिल्ला सभापति बनाउने गरी सहमतिको प्रयास भइरहेको बताइएको छ । पार्टी केन्द्रले विश्वकर्मालाई सभापति बनाउने गरी जिल्ला कार्यसमिति गठनको खाका तयार पारेको र यसको औपचारिक घोषणा तिहारपछि गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन् ।

कार्तिक १५ गते उद्घाटन भई निर्वाचन प्रक्रिया सुरु भएको नेपाली कांग्रेस धादिङको देउवा पक्षधरको जिल्ला अधिवेशन सभापति पदमा चार जनाको उम्मेदवारी परेपछि सहमतिको प्रयासका लागि स्थगित गरिएको थियो ।

जिल्ला सभापति पदका लागि पूर्व जिल्ला उपसभापति रामकृष्ण अधिकारी, अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित जिल्ला संयोजक बनेका गोपाल विश्वकर्मा, युवा नेता विकास अधिकारी र रविसुधन थापाले उम्मेदवारी दर्ता गराएका थिए ।

पार्टी अप्ठ्यारो परिस्थितिमा रहेका बेला जिल्ला अधिवेशन सम्पन्न गराउने जिम्मेवारी लिएर संयोजकका रूपमा आएका विश्वकर्माको योगदानलाई सम्मान गर्दै उनलाई सभापति बनाउने विषयमा पार्टी केन्द्रमा सहमति जुटाउने प्रयास भइरहेको एक नेताले बताए ।

चार जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियाभन्दा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयासलाई प्राथमिकता दिइएको बताइएको छ । सोहीअनुसार जिल्ला कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको टुंगो लगाउने कामसमेत भइरहेको स्रोतको भनाइ छ ।

यद्यपि, गोपाल विश्वकर्मालाई सभापति बनाउने विषयमा औपचारिक निर्णय र घोषणा हुन बाँकी छ । पार्टी केन्द्रको सहमतिअनुसार तिहारपछि जिल्ला कार्यसमितिको नाम सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।