फुर्केखोलामा तिहारअघि नै पोन्टुन ब्रिज सञ्चालनमा ल्याउने तयारी

Avatar photo
Dhadingpost
कार्तिक १९, २०८३

धादिङ । धादिङको लाइफलाइन मानिने फुर्केखोलास्थित पक्की पुल बाढीले बगाएको दुई महिनाभन्दा बढी समयपछि अस्थायी पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । फुर्केखोलामा पानीमाथि तैरिने ‘पोन्टुन ब्रिज’ जडान गरी तिहारअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो ।

गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गलाई सदरमुकाम धादिङबेँसीसँग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएपछि जिल्लाको उत्तरी क्षेत्रको सडक सञ्जाल विच्छेद भएको थियो । पुल नहुँदा उत्तरी धादिङका नागरिकले लामो समयदेखि आवागमनमा कठिनाइ भोग्दै आएका छन् ।

दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि संघीय सरकार तथा सडक विभागले नयाँ पुल निर्माण वा भरपर्दो वैकल्पिक व्यवस्था गर्न नसकेपछि धादिङका १३ वटै स्थानीय तहले सक्रियता देखाउँदै पोन्टुन ब्रिज जडानको प्रक्रिया अघि बढाएका हुन् ।

यससम्बन्धी नियमित समाचार सम्प्रेषण गर्दै आएका पत्रकार पोषनाथ अधिकारीका अनुसार बर्दियाको राजापुरमा थन्क्याएर राखिएको पोन्टुन ब्रिजका सामग्री धादिङ ल्याउन लागिएको छ ।

बर्दियाको कोठियाघाटस्थित गेरुवा नदीमा २०५६ सालमा यस्तै प्रकारको पुल निर्माण गरिएको थियो । २०७२ सालमा उक्त स्थानमा मोटरेबल पक्की पुल बनेपछि पोन्टुन ब्रिजका सामग्री करिब एक दशकदेखि प्रयोजनविहीन अवस्थामा राजापुरमा राखिएका थिए । अहिले ती सामग्री फुर्केखोलामा जडान गर्न धादिङ ल्याउन लागिएको हो ।

‘हामी अहिले राजापुरमै छौँ । पुलको सामग्री पठाउने काम अघि बढिसकेको छ । यसका पार्टहरू निकै गह्रौँ हुने भएकाले एउटा ट्रेलरमा दुईवटा मात्रै पठाउन मिल्ने रहेछ,’ नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले भने, ‘फुर्केखोलाका लागि १६/१७ वटा फलामे ठूला बक्सहरू (मेल–फिमेल संरचना) चाहिने देखिएको छ । यसका लागि ८/९ वटा ट्रेलरमा सामग्री पठाउने काम गरिरहेका छौँ ।’

सामग्री फुर्केखोला आइपुगेपछि प्राविधिक टोलीले तीव्र गतिमा जडानको काम सुरु गर्ने बताइएको छ । आवश्यक सामग्री ढुवानी र जडानको काम लक्ष्यअनुसार अघि बढे तिहारअघि नै पोन्टुन ब्रिज सञ्चालनमा आउने नीलकण्ठ नगरपालिकाका प्रमुख ढुंगानाले बताएका छन् ।

फुर्केखोलाको पक्की पुल ११८ मिटर लामो हुनुपर्ने र त्यति लामो बेलिब्रिज स्टकमा नभएको भन्दै संघीय सरकारले तत्काल पुल निर्माण असम्भव भएको बताउँदै आएको थियो । स्थायी पक्की पुल निर्माणका लागि भने ठेक्का प्रक्रिया अघि बढिरहेको छ । स्थायी पुल निर्माण सम्पन्न नहुँदासम्म पोन्टुन ब्रिजले अस्थायी रूपमा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।

के हो पोन्टुन ब्रिज ?

पोन्टुन ब्रिज पानीको सतहमाथि तैरिने प्रकृतिको पुल हो । फलामका अस्थायी संरचनाबाट निर्माण गरिने यस पुलमा नदीभित्र स्थायी पिलर ठड्याउनुपर्ने आवश्यकता हुँदैन ।

पानीमाथि तैरिने संरचनामाथि सवारीसाधन गुड्न मिल्ने मजबुत सतह बनाइन्छ । नदीको पानीको सतह घटबढ हुँदा पुलको संरचना पनि सँगसँगै तलमाथि हुन्छ । यसले स्थायी पुल निर्माण नहुँदासम्म अस्थायी आवागमनको विकल्प प्रदान गर्न सक्छ ।