सेर्तुङमा प्रथम कामी टासी स्मृति कप भलिबल सुरु, पुरुषतर्फ विजेतालाई २ लाख

Avatar photo
Dhadingpost
कार्तिक ७, २०८३

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबी भ्याली गाउँपालिका–५, सेर्तुङको बोराङमा प्रथम कामी टासी स्मृति कप भलिबल प्रतियोगिता सुरु भएको छ । सिङला दिव्य युवा समाजको आयोजनामा सुरु भएको प्रतियोगितामा महिला र पुरुष गरी २५ टोली सहभागी भएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ १४ टोली र महिलातर्फ ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

पुरुषतर्फ विजेतालाई २ लाख पुरस्कार

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले २ लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, महिलातर्फ प्रथम हुने टोलीले २० हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ, तेस्रो हुनेले ५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले २ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ उत्कृष्ट खेलाडीलाई १ हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीका रूपमा सम्मानित हुने प्रत्येक खेलाडीलाई ५५० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

को हुन् कामी टासी ?

कामी टासी पूर्वगृहमन्त्री बुद्धिमान तामाङका हजुरबुबा हुन् । सामाजिक सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेका टासीको पहलमा उत्तरी धादिङको विकासले गति लिएको आयोजकको भनाइ छ ।

उनको योगदानको स्मरण र सम्मानमा प्रतियोगिता आयोजना गरिएको सिङला दिव्य युवा समाजले जनाएको छ । कामी टासीको स्मृतिमा आगामी वर्षहरूमा पनि प्रतियोगितालाई निरन्तरता दिने आयोजकको योजना छ ।

करिब १० लाख रुपैयाँ लागत

प्रतियोगिता सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । रुबी भ्याली गाउँपालिका–५ को वडा कार्यालयबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी रकम बुद्धिमान तामाङको परिवारसहित विभिन्न सहयोगदाताबाट संकलन गरिएको क्लबका सचिव रेका तामाङले बताए ।