
काठमाडौं । आगामी मंगलबारदेखि नेपालका धेरै क्षेत्रमा लगातार वर्षा हुने सम्भावना देखिएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार अर्को सातादेखि सुरु हुने वर्षा एक साताभन्दा बढी समयसम्म जारी रहन सक्ने संकेत देखिएको हो ।
पोखरेलका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा गराउन सक्ने सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावका कारण देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने र केही स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलले वर्षाको सम्भावना देखाए पनि वर्षा हुने स्थान र त्यसको मात्रा सम्बन्धमा भने फरक–फरक संकेत दिएका छन् । त्यसैले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको मौसमविद् पोखरेलले बताएका छन् ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन र वर्षाका कारण हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ । विशेषगरी भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यान दिनु आवश्यक छ ।





















