
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा धादिङका तीन जना उम्मेदवार विजयी भएका छन् । केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका उर्मिला थपलिया (सीता), कृष्ण रिजाल र रिता थापामगर विजयी भएका हुन् ।
कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा धादिङबाट सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा गरी १२ जनाले उम्मेदवारी दिएका थिए । प्राप्त मतपरिणामअनुसार केन्द्रीय सदस्य पदमा उर्मिला थपलियाले सबैभन्दा बढी ३ हजार ९७० मत प्राप्त गरेकी छन् । कृष्ण रिजालले २ हजार ३४२ र रिता थापामगरले २ हजार ३०८ मत प्राप्त गरेका छन् ।
धादिङबाट सहमहामन्त्री पदमा दिलमान पाख्रिन, रमेशप्रसाद धमला र बाबुकृष्ण सापकोटा उम्मेदवार थिए । सापकोटाले अपाङ्गता क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै, केन्द्रीय सदस्य पदमा भीमप्रसाद ढुङ्गाना, उर्मिला थपलिया, रमेश विश्वकर्मा, रिता थापामगर, कृष्ण रिजाल, राधाकृष्ण भण्डारी, कविता इटनी, उर्मिला कँडेल र मधुकुमार श्रेष्ठ उम्मेदवार थिए ।
धादिङका उम्मेदवारले प्राप्त गरेको मत
प्राप्त मतपरिणामअनुसार धादिङका १२ उम्मेदवारले प्राप्त गरेको मत विवरण यस्तो छः
१. उर्मिला थपलिया (सीता) — ३,९७० मत (विजयी)
२. कृष्ण रिजाल — २,३४२ मत (विजयी)
३. रिता थापामगर — २,३०८ मत (विजयी)
४. भीमप्रसाद ढुङ्गाना — २,१०० मत
५. बाबुकृष्ण सापकोटा — १,०६५ मत
६. कविता इटनी — १,६२० मत
७. उर्मिला कँडेल — १,५६० मत
८. मधुकुमार श्रेष्ठ — १,५०७ मत
९. राधाकृष्ण भण्डारी (राधे) — १,४१४ मत
१०. रमेश विश्वकर्मा — १,४०४ मत
११. रमेशप्रसाद धमला — ७८० मत
१२. दिलमान पाख्रिन — ६२८ मत
प्राप्त विवरणअनुसार धादिङबाट उम्मेदवारी दिएका १२ जनामध्ये तीन जना विजयी भएका छन् । विजयी तीनै जना केन्द्रीय सदस्य पदका उम्मेदवार हुन् । सहमहामन्त्री पदमा उम्मेदवारी दिएका तीनै जना भने प्राप्त मतपरिणामअनुसार विजयी हुन सकेनन् ।





















