
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को चौथो महाधिवेशन आज शनिबार धादिङबेसीमा हुँदैछ । महाधिवेशनले समाजको नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्ष पदमा हालसम्म अस्ट्रेलियाका विनोद उप्रेती, अमेरिकाका बद्री खतिवडा र जापानका राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
धादिङबेसीस्थित क्रिक रिसोर्टमा बिहान १० बजेदेखि सुरु हुने महाधिवेशनमा विश्वभरबाट भौतिक तथा अनलाइन माध्यममार्फत ३३० भन्दा बढी मताधिकार प्राप्त प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।
महाधिवेशनका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका सभामुख डीपी अर्याल सहभागी नहुने भएपछि सांसद बोधनारायण श्रेष्ठलाई प्रमुख अतिथि बनाउने आयोजकको तयारी छ ।
नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने समय आज बिहान १० बजेसम्म तोकिएको छ । पदअनुसार फरक–फरक उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षका लागि ५० हजार, उपाध्यक्षका लागि ४० हजार, महासचिवका लागि ३० हजार तथा सचिव र कोषाध्यक्षका लागि जनही २० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।
सहकोषाध्यक्ष र युवा संयोजकका लागि जनही १५ हजार तथा सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ ।
महाधिवेशनलाई निष्पक्ष र मर्यादित बनाउन प्यानल बनाएर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको समाजका अध्यक्ष राजन खकुरालले बताएका छन् । उनका अनुसार उम्मेदवारहरूले व्यक्तिगत रूपमा उम्मेदवारी दिन सक्ने भए पनि प्यानल बनाएर प्रचार गर्न पाइने छैन ।
यस्तो छ अन्तर्राष्ट्रिय धादिङ समाजको इतिहास
अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार २०७४ असोज ३१ गते काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।
त्यसपछि समाजको विश्व भेला तथा पहिलो अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।
समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।
यसपटकको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विश्वका विभिन्न देशमा रहेका धादिङवासीबीचको सम्बन्ध, सहकार्य र जिल्लाको सामाजिक तथा आर्थिक विकासमा समाजको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।





















