
धादिङ । नीलकण्ठ नगरपालिका–२, सिम्लेमा ‘तेस्रो ६ए साइड खुला नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । जनजागरण तमु समाज, सिम्ले (खेलकुद विभाग) को आयोजनामा शुभ विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर आगामी कात्तिक ६ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
सिम्ले विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब, समूह तथा विद्यालय टोलीले कात्तिक ५ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ता शुल्क ६ हजार ५ सय रुपैयाँ र डिपोजिट शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ । सोही दिन साँझ ५ बजेपछि प्रतियोगिताको टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक टोलीबाट ६ जना मुख्य खेलाडी र ४ जना अतिरिक्त खेलाडी सहभागी हुन पाउनेछन् । अनुशासन उल्लंघनतर्फ पहेँलो कार्डका लागि ५ सय रुपैयाँ र रातो कार्डका लागि १ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
‘स्वास्थ्य राष्ट्रका लागि खेलकुद, समाज र मनोरञ्जनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकाससँगै युवाबीच भ्रातृत्व, सामाजिक एकता र आपसी सद्भाव बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
