धादिङ सेवा समाज कतारको अधिवेशन नजिकिँदै, तयारी तीव्र

Avatar photo
Dhadingpost
अशोज १४, २०८३

धादिङ । धादिङ सेवा समाज कतारको आठौँ अधिवेशनको मिति नजिकिँदै गएसँगै तयारी तीव्र पारिएको छ । समाजको आठौँ अधिवेशन आगामी असोज १६ गते अर्थात् अक्टोबर २ मा कतारमा हुँदैछ ।

अधिवेशनको मिति नजिकिएसँगै आवश्यक तयारीलाई तीव्रता दिइएको समाजका महासचिव रामहरि श्रेष्ठले जानकारी दिए । अधिवेशनमार्फत नयाँ कार्यकालका लागि समाजको नेतृत्वसहित नयाँ कार्यसमिति चयन गरिनेछ ।

यसअघि समाजको आठौँ अधिवेशन सेप्टेम्बर ११ मा गर्ने तयारी गरिएको थियो । तर भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत संकलन तथा त्यससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भएपछि अधिवेशनको मिति सारेर अक्टोबर २ मा तय गरिएको महासचिव श्रेष्ठले बताए ।

अधिवेशनलाई लक्षित गर्दै समाजले सदस्यता विस्तारलाई समेत प्राथमिकता दिएको छ। हाल समाजमा सदस्यता लिएका करिब एक सय जना अधिवेशन प्रतिनिधि रहने बताइएको छ। कतारमा व्यवसाय तथा रोजगारीका सिलसिलामा करिब ४ सय जना धादिङका नेपाली रहेको समाजले जनाएको छ ।

धादिङ सेवा समाज कतारको २०८१ भदौमा सम्पन्न सातौँ अधिवेशनबाट नेत्रावती डबजोङ गाउँपालिका–कटुञ्जेका आयुष घले अध्यक्षमा चयन भएका थिए । आठौँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले समाजको आगामी कार्यदिशाबारे पनि चासो बढेको छ ।