६२औँ राष्ट्रिय बाल दिवसमा नमुना बौद्धिक आधारभूत विद्यालयमा वृक्षारोपण तथा सरसफाइ

Avatar photo
Dhadingpost
भदौ २९, २०८३

धादिङ । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित नमुना बौद्धिक आधारभूत विद्यालयमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकाको अधिकार, सहभागिता, संरक्षण र विकाससँगै स्वच्छ तथा हरित वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नीलकण्ठ नगरपालिका स्तर बाल सञ्जालका अध्यक्ष निगेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै विद्यालय क्षेत्रको सरसफाइ गरिएको थियो । कार्यक्रममा बालबालिका, शिक्षक–शिक्षिका तथा विद्यालय परिवारको सहभागिता रहेको थियो ।

कार्यक्रमले बालमैत्री र वातावरणमैत्री समाज निर्माणका लागि बालबालिकाको सहभागितालाई जोड दिएको आयोजकले जनाएको छ । वृक्षारोपणले विद्यालय तथा आसपासको वातावरणलाई हरियाली बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने विद्यालय परिवार, बालबालिका, शिक्षक–शिक्षिका तथा सम्पूर्ण सरोकारवालाप्रति नीलकण्ठ नगरपालिका स्तर बाल सञ्जालले आभार व्यक्त गरेको छ ।

बाल अधिकारको सम्मान, वातावरण संरक्षण र सुरक्षित भविष्य निर्माणको सन्देशसहित कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले बताए ।