
धादिङ । भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङमा ५ सय १७ परिवार विस्थापित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानीय तहमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको छ ।
बाढीबाट सबैभन्दा बढी गल्छी गाउँपालिका प्रभावित भएको छ । यहाँ २ सय ७९ परिवार विस्थापित भएका छन् । त्यस्तै गजुरी गाउँपालिकामा २ सय १६, बेनीघाट रोराङ गाउँपालिकामा २० र सिद्धलेक गाउँपालिका–७ मा दुई परिवार विस्थापित भएका छन् ।
बाढीका कारण धादिङमा १ सय १४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले दुई वटा पक्की पुल र ६ वटा झोलुङ्गे पुलसमेत बगाएको छ । बाढी र नदी कटानका कारण नदी किनारका बस्तीमा घर तथा अन्य संरचनामा ठूलो क्षति पुगेको छ ।
गजुरीमा दुई होल्डिङ सेन्टर
बाढीबाट विस्थापित परिवारको अस्थायी व्यवस्थापनका लागि गजुरी गाउँपालिकामा दुई वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् ।
गजुरी गाउँपालिका–५, गलौदीस्थित होल्डिङ सेन्टरमा ४६ परिवारका १ सय ४४ जना र गजुरी गाउँपालिका–६, रातमाटेस्थित होल्डिङ सेन्टरमा ३८ परिवारका ९८ जना अस्थायी आश्रय लिएर बसिरहेका छन् ।
गल्छीका १०६ परिवारलाई अस्थायी व्यवस्थापन
गल्छी गाउँपालिकामा बाढीबाट विस्थापित भएका १०६ परिवारलाई पालिकाले राहत सामग्रीसहित कोठा भाडाको व्यवस्था गरेर अस्थायी रूपमा व्यवस्थापन गरेको छ ।
बाढीबाट विस्थापित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले राहत तथा पुनर्स्थापनाका काम अघि बढाइरहेका छन् । बाढीपछि तत्काल राहतसँगै अब विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापना मुख्य चुनौती बनेको छ ।
१५१ जना सम्पर्कविहीन, १० शवको सनाखत
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि धादिङमा १ सय ५१ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये १० जनाको शव सनाखत भएको विवरणमा उल्लेख छ ।
बाढीपछि धादिङमा बेपत्ता तथा मृतकको विवरण संकलन, शव खोजी तथा पहिचानको काम जारी छ । पछिल्ला दिनमा धादिङमा फेला परेका शवको संख्या र सनाखतसम्बन्धी विवरणसमेत क्रमशः अद्यावधिक भइरहेको छ ।
भोटेकोशी बाढीले धादिङका गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक, पुल, घर, खानेपानी तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । तस्वीरः गणेश पाण्डे
