धादिङ उद्योग वाणिज्य संघको माग : बाढी प्रभावित व्यवसायीलाई कर्जा सहुलियत, विद्युत् छुट र तत्काल पुल निर्माण

Avatar photo
Dhadingpost
भदौ २३, २०८३

धादिङ । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङमा ठूलो जनधनको क्षति भएपछि धादिङ उद्योग वाणिज्य संघले बाढी प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणका समस्या सम्बोधन गर्न सरकारसँग पाँच बुँदे माग गरेको छ ।

संघले बाढीका कारण अस्थायी रूपमा प्रभावित भएको व्यवसायिक गतिविधि पुनः सञ्चालन गर्न तत्काल आवश्यक पहल तथा सहजीकरण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको हो ।

धादिङ उद्योग वाणिज्य संघले बैंक कर्जा तथा ब्याजमा सहुलियत र पुनर्संरचना, न्यूनतम विद्युत् महसुलमा छुट, वैकल्पिक सडकको तत्काल स्तरोन्नति तथा पुनर्निर्माण, धादिङबेँसी जोड्ने पुलको तत्काल अस्थायी निर्माण तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न माग गरेको छ ।

संघले बाढीबाट क्षति व्यहोरेका तथा बैंक कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्योगी तथा व्यवसायीहरूको कर्जामा विशेष सहुलियत प्रदान गर्न माग गरेको छ । साथै कर्जाको Rescheduling/Restructuring गर्न आवश्यक व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी बाढीका कारण उद्योग, व्यवसाय तथा घरधुरीमा विद्युत् सेवा नियमित रूपमा प्रयोग गर्न नसकिएको अवस्थालाई ध्यानमा राख्दै बाढी प्रभावित अवधिको न्यूनतम विद्युत् महसुलमा मिनाहा वा छुट प्रदान गर्न संघले माग गरेको छ ।

बाढीका कारण क्षतिग्रस्त भएका धादिङको मध्य तथा उत्तरी क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडकहरूको तत्काल मर्मत, पुनर्निर्माण तथा आवश्यक स्तरोन्नति गर्न पनि संघले माग गरेको छ । सडक सञ्चालनमा सहजता ल्याउन आवश्यक काम तत्काल अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

संघले बाढीका कारण क्षतिग्रस्त भएको धादिङबेसी जोड्ने पुलको तत्काल अस्थायी निर्माण गर्नसमेत माग गरेको छ । बाढीका कारण प्रभावित धादिङको मध्य तथा उत्तरी क्षेत्रलाई पृथ्वी राजमार्गसँग सहज रूपमा जोड्न तत्काल वैकल्पिक व्यवस्था आवश्यक रहेको संघको भनाइ छ ।

त्यस्तै, बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्स्थापना, पुनर्निर्माण तथा आर्थिक गतिविधि चलायमान बनाउन संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको संघले जनाएको छ। त्यसका लागि स्पष्ट कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्स्थापना, पुनर्निर्माण तथा आर्थिक गतिविधि चलायमान बनाउन संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र साझा कार्ययोजना आवश्यक रहेको संघको भनाइ छ।

धादिङ उद्योग वाणिज्य संघले बाढीबाट प्रभावित उद्योगी–व्यवसायी तथा सर्वसाधारणले भोगिरहेको कठिनाइलाई ध्यानमा राख्दै तत्काल राहतसँगै व्यवसाय पुनःस्थापना र आर्थिक गतिविधि पुनःचलायमान बनाउने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

संघले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति समवेदना व्यक्त गर्दै विपद्का कारण भएको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ।