
धादिङ । नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि २०० थान पानीका जार वितरण गरेको छ ।
तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट गल्छी र गजुरी गाउँपालिकामा रहेका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढी प्रभावित परिवारलाई पानीका जार वितरण गरिएको हो ।
बाढीका कारण खानेपानीको समस्या भोगिरहेका प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले पानीका जार वितरण गरिएको बताइएको छ ।
यसैगरी, तरुण दलका तर्फबाट गजुरी गाउँपालिका–स्थित गलौंदी होल्डिङ सेन्टरमा अस्थायी शौचालय निर्माणका लागि श्रमदान समेत गरिएको छ । श्रमदानमार्फत प्रभावित परिवारका लागि आवश्यक सरसफाइ तथा स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने प्रयास गरिएको दिलिप श्रेष्ठले जानकारी दिए ।
भोटेकोशी नदीमा आएको बाढीले गजुरी गाउँपालिकाको गलौंदी बजारमा ठूलो क्षति पुर्याएको थियो । बाढीले बजार डुबाउँदा करिब ३५ घर विस्थापित भएका थिए ।
विस्थापित परिवारलाई अहिले गजुरीमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ । बाढी प्रभावितलाई सुरक्षित आवाससँगै खानेपानी, शौचालयलगायतका आधारभूत आवश्यकताको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका स्थानीय संगठनहरूले राहत तथा सहयोगका गतिविधि सञ्चालन गरिरहेका छन् ।
