धादिङका संघर्षशील केसीद्वारा नेदरल्याण्ड्सबाट एनआरएनएमार्फत बाढीपीडितलाई १ लाख सहयोग

Avatar photo
Dhadingpost
भदौ १९, २०८३

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका घर भई विगत २३ वर्षदेखि नेदरल्याण्ड्समा व्यवसाय गर्दै आएका संघर्षशील केसीले बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपका उप-संयोजक (Deputy Regional Coordinator – Europe) समेत रहेका केसीले एनआरएनएमार्फत रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

केसी नेदरल्याण्ड्सस्थित नेपाली व्यवसायी संघका अध्यक्ष समेत हुन् । उनले नेपालमा विभिन्न समयमा आइपरेका विपद्का बेला सहयोग गर्दै आएका छन् । यसअघि भूकम्प तथा कोरोना महामारीका समयमा समेत उनले उल्लेख्य सहयोग गरेका थिए ।

धादिङका विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा समेत केसीले नियमित रूपमा आर्थिक सहयोग गर्दै आएको बताइएको छ । पछिल्लो समय आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि पनि उनले सहयोग गरेका हुन् ।

यसैगरी, एनआरएनएमार्फत धादिङका बाढीपीडितका लागि अन्य व्यक्तिहरूले समेत सहयोग गरेका छन्। लोकप्रसाद दाहाल, बेल्जियमले २ लाख रुपैयाँ, मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’, यूएईले १ लाख ५ हजार रुपैयाँ, सूजन अधिकारी, अस्ट्रेलियाले १ लाख रुपैयाँ, कृष्णप्रसाद तिमल्सिना, यूकेले १ लाख रुपैयाँ र प्रसुन्ना कडेल, यूकेले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

विदेशमा रहेका नेपालीहरूले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने क्रम जारी रहेको छ । एनआरएनएलगायत विभिन्न नेपाली संघसंस्थाले बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोग जुटाउँदै आएका छन् ।