गजुरीमा बाढी विस्थापितलाई राहत सामग्री वितरण, ‘एकद्वार नीति’ अवलम्बन

Avatar photo
Dhadingpost
भदौ १४, २०८३

धादिङ । गजुरी गाउँपालिकाले बाढीका कारण विस्थापित भएका स्थानीय बासिन्दालाई राहत सामग्री वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ र ६ का बाढी प्रभावित नागरिकलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको हो ।

विभिन्न संघ–संस्था तथा सहयोगीबाट संकलन भएका खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीलाई गाउँपालिकाले एकद्वार नीति अवलम्बन गरी समानुपातिक रूपमा वितरण गरेको जनाएको छ ।

राहत सामग्रीमा चामल, चिउरा लगायतका दैनिक उपभोग्य खाद्य सामग्री रहेका छन् । बाढीबाट प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

विपद्को समयमा विभिन्न संघ–संस्था तथा व्यक्तिबाट प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्दा राहत सामग्री वितरणमा दोहोरोपन हट्नुका साथै वास्तविक प्रभावित परिवारसम्म सहयोग पुर्‍याउन सहज हुने गाउँपालिकाको भनाइ छ।

स्थानीय सरकार, जनप्रतिनिधि तथा सामाजिक संघ–संस्थाबीचको समन्वयमा राहत वितरण गरिएको हो । गाउँपालिकाले विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ । तस्वीर स्रोत: गणेश पाण्डे