
धादिङ । धादिङबेँसीस्थित एड्भान्स एकेडेमीमा कथा वाचन, प्लेकार्ड प्रदर्शनी तथा सुन्दर हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत आइतबार विभिन्न सिर्जनात्मक तथा प्रतिभामूलक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि कथा वाचन प्रतियोगिता तथा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीका लागि प्लेकार्ड प्रदर्शनी आयोजना गरिएको थियो ।
नेपाली विभागको आयोजनामा कथा वाचन प्रतियोगिता तथा सामाजिक विभागको आयोजनामा प्लेकार्ड प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विषय संयोजक तथा भाइस प्रिन्सिपल सुनीता तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो प्रतिभा, सिर्जनशीलता र प्रस्तुतीकरण क्षमता प्रदर्शन गरेका थिए ।
त्यसैगरी, नर्सरीदेखि यूकेजीसम्मका विद्यार्थीका लागि सुन्दर हस्तलेखन प्रतियोगिता समेत आयोजना गरिएको थियो । सानै उमेरदेखि विद्यार्थीमा लेखन सीप, सिर्जनशीलता तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
उत्कृष्ट विद्यार्थी सम्मानित
प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा स्टेशनरी सामग्री प्रदान गरी सम्मान गरिएको थियो ।
उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठ तथा कम्पनी अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोरखाली’ले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
