एमाले धादिङका बैठकका निर्णय यस्ता छन्

Avatar photo
Dhadingpost
भदौ ७, २०८३

धादिङ । नेकपा (एमाले) धादिङले जिल्लामा संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध विस्तारलाई केन्द्रमा राख्दै जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो सम्पन्न जिल्ला कमिटीको बैठकले अभियानको कार्ययोजना तय गर्नुका साथै १३ वटै पालिकामा अभियान सञ्चालनका लागि संयोजकसमेत तोकेको छ ।

बैठकका प्रमुख अतिथि नेकपा (एमाले) का नेता महेश बस्नेत रहेका थिए । बैठकमा जिल्लाका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटीका नेताहरूको सहभागिता रहेको थियो ।

भदौ २१ देखि जागरण अभियान

एमाले धादिङले तय गरेको कार्ययोजनाअनुसार भदौ २१ गते धादिङबेंसीस्थित पार्टी कार्यालयमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरी जागरण अभियानको शुभारम्भ गरिनेछ ।

त्यसपछि भदौ महिनाभित्रै धादिङका सबै १३ वटै पालिकामा पालिकास्तरीय बृहत् कार्यकर्ता भेला तथा जागरण अभियान सञ्चालन गरिसक्ने निर्णय गरिएको छ ।

त्यस्तै, असोज ३ गते संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा जिल्लास्तरीय युवा भेला आयोजना गर्ने कार्ययोजना बनाइएको छ ।

असोज १० र ११ गते जनसंगठनहरूको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ भने असोज २४ र २५ गते निर्वाचन क्षेत्र नं. २ (धादिङबेंसी) र निर्वाचन क्षेत्र नं. १ (गल्छी) मा कार्यकर्ता भेला तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने भएको छ ।

१३ पालिकामा संयोजक तोकिए

एमाले धादिङले पालिकास्तरमा जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्ला कमिटीका नेताहरूलाई संयोजनको जिम्मेवारीसमेत तोकेको छ।

जसअनुसार धुनिबेशी नगरपालिकामा राजेन्द्र तामाङ (राजीव), थाक्रे गाउँपालिकामा गोकर्ण रुपाखेती, गल्छी गाउँपालिकामा केदार खतिवडा, गजुरी गाउँपालिकामा राजेन्द्र विक्रम बस्नेतबेनिघाट रोराङ गाउँपालिकामा फणिन्द्र सिलवाललाई संयोजकको जिम्मेवारी दिइएको छ।

त्यस्तै, सिद्धलेक गाउँपालिकामा प्रेम सिलवाल, नीलकण्ठ नगरपालिकामा भरत ढुंगाना, ज्वालामुखी गाउँपालिकामा अर्जुन अर्याल, नेत्रावती डबजोङ गाउँपालिकामा डालमाया तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकामा गोपाल गुरुङगंगाजमुना गाउँपालिकामा भक्तबहादुर लामिछानेलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

यसैगरी खनियावास गाउँपालिकाको संयोजकमा भक्तबहादुर लामिछानेरुबीभ्याली गाउँपालिकाको संयोजकमा प्रज्वल तामाङलाई जिम्मेवारी दिइएको छ ।

यससँगै एमाले धादिङले जिल्लाका सबै स्थानीय तहमा पार्टीका गतिविधिलाई थप सक्रिय बनाउँदै कार्यकर्ताबीच संगठनात्मक एकता र समन्वय बढाउने लक्ष्य लिएको छ ।

जागरण अभियानको मुख्य कार्ययोजना

  • भदौ २१: धादिङबेंसीस्थित पार्टी कार्यालयमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा जागरण अभियान शुभारम्भ ।
  • भदौ महिनाभित्र: धादिङका सबै १३ वटै पालिकामा बृहत् कार्यकर्ता भेला तथा जागरण अभियान ।
  • असोज ३: संविधान दिवसका अवसरमा जिल्लास्तरीय युवा भेला।
  • असोज १० र ११: जनसंगठनहरूको प्रशिक्षण कार्यक्रम ।
  • असोज २४ र २५: निर्वाचन क्षेत्र नं. २ (धादिङबेंसी) र निर्वाचन क्षेत्र नं. १ (गल्छी) मा कार्यकर्ता भेला तथा विजयादशमीको शुभकामना आदानप्रदान ।

एमाले धादिङले उक्त अभियानमार्फत पार्टीको संगठनलाई वडा तहसम्म थप चलायमान बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य लिएको जनाएको छ ।