धादिङका नानुकाजी अर्याललाई थाइल्यान्डमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’

Avatar photo
Dhadingpost
भदौ ७, २०८३

धादिङ । धादिङ निवासी पर्यटन व्यवसायी नानुकाजी अर्याललाई थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’ प्रदान गरिएको छ ।

पर्यटन तथा ट्राभल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदान, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खेलेको भूमिका तथा नेपाललाई विश्व पर्यटन बजारसँग जोड्न गरेको पहलको कदरस्वरूप अर्याललाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा पर्यटन, व्यवसाय, सामाजिक सेवा, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले नानुकाजी अर्याललाई प्रदान गरिएको सम्मान अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीले पुर्‍याउँदै आएको योगदानको कदर भएको बताए ।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो ।

सम्मानित अर्याल नमस्ते ट्राभल एन्ड टुरिजम, यूएईका निर्देशक तथा अन्तर्राष्ट्रिय धादिङ समाजका संस्थापक अध्यक्ष हुन् । पर्यटन व्यवसायमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने तथा नेपाली पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका अर्याललाई प्राप्त सम्मानले धादिङसँगै नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक सन्देश दिएको छ ।