
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङद्वारा आयोजित जिल्लास्तरीय चित्रकला प्रतियोगितामा एड्भान्स एकेडेमी र लुसिड रोस इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूबीच आयोजना गरिएको प्रतियोगितामा प्याब्सन धादिङमा आबद्ध विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा अभिव्यक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
बेनीघाट राेराङ स्थित इजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलमा आयोजित प्रतियोगितामा छात्रातर्फ एड्भान्स एकेडेमी प्रथम भएको छ । लुसिड रोस इङ्लिस बोर्डिङ स्कुल द्वितीय, सुनगाभा एकेडेमी तृतीय र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल चौथो भएका छन् ।
त्यस्तै, छात्रतर्फ लुसिड रोस इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । रोसमेरी चाइल्ड केयर बोर्डिङ स्कुल द्वितीय, सुनगाभा एकेडेमी तृतीय र आदर्शिला पाठशाला चौथो भएका छन् ।
समग्र नतिजामा लुसिड रोस प्रथम
विद्यालयगत समग्र नतिजामा लुसिड रोस इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । एड्भान्स एकेडेमी र सुनगाभा एकेडेमी संयुक्त रूपमा द्वितीय भएका छन् ।
त्यस्तै, रोसमेरी चाइल्ड केयर बोर्डिङ स्कुल तृतीय तथा आदर्शिला पाठशाला सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका सभापति एवं प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्ट र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलका अध्यक्ष जीवनकुमार घिमिरेले मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
विद्यार्थीको सिर्जनशीलता विकासमा जोड
कार्यक्रममा प्याब्सन धादिङका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्याब्सन धादिङले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, सिर्जनात्मक क्षमता विकास र आत्मविश्वास अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइँदै आएको जनाएको छ ।
चित्रकला जस्ता सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीलाई आफ्नो कल्पना र भावनालाई कलामार्फत प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ कुरा सिक्ने र प्रतिस्पर्धात्मक वातावरणमा आफूलाई प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने प्याब्सन धादिङको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठले गरेका थिए । विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा अतिथिहरूको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको हो ।
