
न्यूयोर्क । धादिङ नेपाली समाज अमेरिका आगामी प्रथम Interstate NRNA Cup Volleyball Tournament 2026 मा आफ्नो टिमसहित सहभागी हुने भएको छ । गैरआवासीय नेपाली संघ (NRNA) NCC-USA, New York Chapter को आयोजनामा प्रतियोगिता सेप्टेम्बर ५ र ६, २०२६ मा न्यूयोर्कस्थित Queensbridge Park मा आयोजना हुँदैछ ।
अमेरिकाका विभिन्न राज्यबाट भलिबल टिमहरूको सहभागिता रहने प्रतियोगितामा धादिङ नेपाली समाज अमेरिकाले उपाधि जित्ने लक्ष्यसहित बलियो तयारी गरिरहेको जनाएको छ ।
प्रतियोगिताको प्रथम हुने टिमले ५ हजार ५ सय अमेरिकी डलर र दोस्रो हुने टिमले ३ हजार ३ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता तथा उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्राप्त गर्नेछन् ।
प्रतियोगिताको व्यवस्थापन तथा संयोजनमा सक्रिय भूमिका निर्वाह गरिरहेका NRNA NCC-USA, New York Chapter का खेलकुद संयोजक तथा धादिङ नेपाली समाज अमेरिकाका युवा तथा खेलकुद संयोजक रविन बिडारीको नेतृत्वमा धादिङको टोली प्रतियोगितामा सहभागी हुन लागेको हो ।
धादिङ नेपाली समाज अमेरिकाले पछिल्लो समय खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै भलिबलसँगै फुटबल टिम निर्माण र विस्तार गर्ने अभियानसमेत अघि बढाएको छ । अमेरिकाका विभिन्न राज्यमा रहेका धादिङका युवा तथा प्रतिभाशाली खेलाडीलाई समेटेर बलियो टोली निर्माण गर्दै आगामी दिनमा अन्तरराज्य तथा राष्ट्रियस्तरका प्रतियोगितामा धादिङको प्रतिनिधित्व गराउने संस्थाको लक्ष्य रहेको छ ।
धादिङको टिमका लागि विशेष जर्सी तयार
प्रतियोगितामा सहभागी हुने धादिङ नेपाली समाज अमेरिकाको टोलीका लागि विशेष जर्सी तथा टी–सर्टसमेत तयार गरिएको छ । उक्त जर्सी Jackson Marketले प्रायोजन गरेको हो ।
Jackson Market धादिङ नेपाली समाज अमेरिकाका वर्तमान अध्यक्ष सागर अधिकारी, वर्तमान सल्लाहकार गणेश लम्साल तथा पूर्व वरिष्ठ उपाध्यक्ष भक्त गुरुङको संयुक्त व्यवसाय हो । खेलकुदमार्फत धादिङका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको सहयोगप्रति धादिङ नेपाली समाज अमेरिकाले धन्यवाद व्यक्त गरेको छ ।
धादिङ नेपाली समाज अमेरिकाका महासचिव हरि गिरीले खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्दै धादिङको पहिचान र गौरवलाई अमेरिकामा मात्र नभई विश्वभर स्थापित गर्ने उद्देश्यले फुटबल तथा भलिबल टिम निर्माण र विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।
