अन्तर्राष्ट्रिय धादिङ समाज डेनमार्कको संयोजकमा उद्भव कार्की

Avatar photo
Dhadingpost
भदौ ४, २०८३

डेनमार्क । अन्तर्राष्ट्रिय धादिङ समाजले डेनमार्कमा आफ्नो २०औँ शाखा विस्तार गरेको छ । शाखा विस्तार संयोजकमा गजुरी–८ का समाजसेवी तथा लामो समयदेखि डेनमार्कमा बस्दै आएका उद्भव कार्की चयन भएका छन् ।

विभिन्न सामाजिक गतिविधिमा लामो अनुभव हासिल गरेका कार्की विगत ११ वर्षदेखि डेनमार्कमा बसोबास गर्दै आएका छन् । प्रवासमा रहेका नेपाली समुदाय, विशेषगरी धादिङवासीबीच एकता, सहकार्य र आपसी सम्बन्ध मजबुत बनाउन कार्कीले निरन्तर योगदान दिँदै आएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा धादिङसँग सम्बन्धित संस्थाहरूको सक्रियता बढिरहेको छ । सोही क्रममा समाजले आफ्नो शाखा विस्तार अभियानलाई थप व्यापक बनाउँदै डेनमार्कलाई २०औँ शाखाका रूपमा समावेश गरेको हो ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमार्फत कार्कीलाई डेनमार्कमा शाखा विस्तारको संयोजकको जिम्मेवारी दिइएको हो ।

यसअघि अन्तर्राष्ट्रिय धादिङ समाजअन्तर्गत जापान, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, भारत, यूएई, बेल्जियम, बेलायत, फिनल्यान्ड, पोर्चुगल, क्यानडा, कतार, मकाउ, बहराइन, चेक रिपब्लिक, फ्रान्स, नेदरल्याण्ड्स, इराक र साउदी अरबमा राष्ट्रिय समन्वय परिषद्/शाखा विस्तार भइसकेका छन् ।

डेनमार्कमा शाखा विस्तार भएसँगै अन्तर्राष्ट्रिय धादिङ समाजको उपस्थिति २० देशमा पुगेको समाजले जनाएको छ ।

शाखा विस्तार संयोजकको जिम्मेवारी पाएसँगै कार्कीले डेनमार्कमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै संस्थाको उपस्थिति तथा गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रवासमा रहेका धादिङवासीबीच आपसी एकता, सहकार्य, भाइचारा तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले शाखाले सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई प्राथमिकता दिने बताइएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजले कार्कीलाई नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको शुभकामना दिँदै डेनमार्कमा रहेका धादिङवासीलाई संस्थासँग जोडेर सामाजिक एकता र सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।