
बेल्जियम । धादिङ समाज बेल्जियमले आयोजना गरेको विशेष एकदिने भ्रमण कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । बेल्जियमका विभिन्न स्थानबाट करिब ८५ जना सहभागी भएको भ्रमणमा आपसी भेटघाट, मनोरञ्जन, सांगीतिक प्रस्तुति तथा पर्यटकीय क्षेत्रको अवलोकन गरिएको थियो ।
सोमबार बिहान करिब ९ः३० बजेदेखि कलाकारसहित सुरु भएको भ्रमण नाचगान, हाँसो–ठट्टा, परिचय तथा आत्मीय भेटघाटसँगै रमाइलो वातावरणमा अघि बढेको थियो ।
भ्रमणका क्रममा सहभागीहरू नामुर पुगेका थिए । त्यहाँ केबलकारमार्फत आसपासका प्राकृतिक तथा ऐतिहासिक दृश्यहरूको अवलोकन गरिएको थियो । त्यसपछि दिनान्टतर्फ प्रस्थान गरी करिब ४५ मिनेटको बोटिङमा सहभागी हुँदै प्राकृतिक सौन्दर्यको आनन्द लिइएको थियो ।
बोटिङपछि वरिष्ठ लोकगायक जेबी ओलीको दोहोरी तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । ओलीको प्रस्तुतिमा सहभागीहरू नाच्दै, गाउँदै र रमाउँदै कार्यक्रममा उत्साह थपेका थिए ।
कार्यक्रममा धादिङ समाज बेल्जियमका सल्लाहकार विष्णुमाया सिम्खडालगायत विभिन्न पदाधिकारी, सदस्य तथा बेल्जियममा रहेका धादिङेलीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन निवर्तमान अध्यक्ष कृष्ण न्यौपाने, वरिष्ठ उपाध्यक्ष हरि सिम्खडा, उपाध्यक्ष रूपेन्द्र दाहाल, रमेश अधिकारी, महासचिव तेज अर्याल, सचिव रन्जाना सिम्खडा न्यौपाने, सदस्यहरू प्रमिला दुवाडी, भारत ढकाल, सरिता दाहाल, प्रेम गौली र केदार खकुरेल तथा सल्लाहकार विष्णुमाया सिम्खडालगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेको समाजले जनाएको छ ।
त्यसैगरी, कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा कार्यक्रम संयोजक कविता सिम्खडा दाहालले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
आफ्नो सांगीतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप रमाइलो र अविस्मरणीय बनाउन सहयोग गरेकोमा वरिष्ठ लोकगायक जेबी ओलीप्रति समाजले आभार व्यक्त गरेको छ ।
धादिङ समाज बेल्जियमका अध्यक्ष रमेश दाहालका अनुसार भ्रमण केवल मनोरञ्जनमा सीमित नभई प्रवासमा रहेका धादिङेलीबीच आपसी भेटघाट, मित्रता, भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप मजबुत बनाउने अवसरसमेत बनेको छ ।
बस यात्राको रमाइलो, नामुरको केबलकार, दिनान्टको बोटिङ, प्राकृतिक दृश्य तथा सांगीतिक प्रस्तुतिसहितको भ्रमण सहभागीहरूका लागि स्मरणीय बनेको समाजले जनाएको छ ।
समाजले आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत प्रवासमा रहेका धादिङेलीबीचको एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउँदै लैजाने जनाएको छ ।
