
धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम हुने भएको छ ।
धादिङ जिल्ला फुटबल संघले फिफाको ‘Football Unites the World – Give Every Talent a Chance’ भन्ने नारासहित नेपाली युवा खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले छनोट कार्यक्रम आयोजना गर्न लागेको हो ।
संघका अनुसार छनोट कार्यक्रम २०८३ भदौ ८ गते बिहान १० बजेबाट गलौंदी खेल मैदान गजुरी, धादिङमा सञ्चालन हुनेछ ।
छनोटमा यू–१५ उमेर समूहका खेलाडी सहभागी हुन सक्नेछन् । सन् २०११ जनवरी १ देखि सन् २०१२ डिसेम्बर ३१ सम्म जन्मिएका खेलाडी छनोटका लागि योग्य हुने संघले जनाएको छ ।
छनोटमा सहभागी हुन खेलाडीले जन्मदर्ताको सक्कल प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, अभिभावकको नागरिकताको प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र (National ID) अनिवार्य रूपमा ल्याउनुपर्नेछ ।
खेलाडी छनोटसम्बन्धी थप जानकारी तथा आवश्यक समन्वयका लागि ९८४१४६४०३९, ९८४१८८७१७६ र ९८४४३५४०३७ मा सम्पर्क गर्न सकिनेछ ।
धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाद्वारा जारी सूचनाअनुसार जिल्लाका प्रतिभावान युवा फुटबल खेलाडीलाई छनोट प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ । जिल्लामा छोटन भएका खेलाडीहरु प्रदेश छनोटमा सहभागी हुन पाउने छन् ।
