धादिङका प्रकाश लोहनी नाट्टाको कार्यकारी सदस्यमा निर्वाचित

Avatar photo
Dhadingpost
साउन ३०, २०८३

धादिङ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमितिमा धादिङका प्रकाश लोहनी कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।

काठमाडौंको सोल्टी होटलमा शुक्रबार सम्पन्न नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचनबाट लोहनी कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । उनी भरतजंग पाण्डेको प्यानलबाट विजयी भएका हुन् ।

लोहनी प्रवास ट्राभल एण्ड टुर्सका सञ्चालक हुन् । पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय उनले पर्यटन व्यवसायमार्फत स्वदेश तथा विदेशमा सेवा प्रदान गर्दै आएका छन् ।

उनीसँग पर्यटन क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ । मानविकीमा स्नातकोत्तर (MA) गरेका लोहनीले ६० भन्दा बढी देशको भ्रमणमार्फत अन्तर्राष्ट्रिय पर्यटन बजार, सेवा मापदण्ड तथा पर्यटन व्यवस्थापनको व्यावहारिक अनुभव हासिल गरेका छन् ।

निर्वाचनबाट भरतजंग पाण्डेको प्यानल नै नयाँ कार्यसमितिमा निर्वाचित भएको छ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता के.सी. भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुलीकोषाध्यक्षमा डिकी शेर्पा निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा सुमनलाल श्रेष्ठ, प्रकाश लोहनी, नवीन गुरुङ, सरला सापकोटा (अधिकारी), दिनेश मैनाली, दीपक मरासेनी, स्वस्तिका प्रधान र दीनानाथ पाण्डे निर्वाचित भएका छन्।

नाट्टाको नयाँ नेतृत्वले पर्यटन व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै पर्यटन क्षेत्रको विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।