
धादिङबेसी । ऐतिहासिक भैरवी मन्दिर गुठीको नाममा रहेको धादिङबेसीस्थित जग्गाको साँध–सिमाना छुट्याउने सीमाङ्कन तथा नापजाँचको काम आजबाट सुरु हुने भएको छ ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिले यसअघि सूचना जारी गर्दै गुठी जग्गाको सीमाङ्कन गर्ने जनाएको थियो । तर प्रमुख जिल्ला अधिकारीबाट समय माग भएपछि निर्धारित समयमा काम सुरु हुन नसकेको र करिब एक महिनापछि आजबाट सीमाङ्कनको काम सुरु गर्न लागिएको समितिले जनाएको छ ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले धादिङपोष्टलाई आफूहरू सदरमुकाम आइसकेको र सम्बन्धित निकायसमेत सहयोगका लागि तयार रहेको बताए । उनका अनुसार आज बिहान १० बजेदेखि गुठी जग्गाको नापजाँच तथा सीमाङ्कनको काम सुरु हुनेछ ।
सर्वोच्चको आदेशपछि गुठीको नाममा जग्गा कायम
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार धादिङबेसीको सिरान बजार र पुछार बजारमा रहेको साविक नीलकण्ठ–५ ‘घ’ का कित्ता नम्बर १४६ र १४७ तथा साविक नीलकण्ठ–५ ‘च’ का कित्ता नम्बर ३२ र ३३ भैरवी गुठीको जग्गा हुन् ।
समितिका अनुसार उक्त जग्गा विसं २०५३ सालमा नक्कली मोही कायम गरी विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको थियो । त्यसपछि विसं २०५६ सालमा सर्वोच्च अदालतबाट खाँगी जग्गामा मोही कायम नहुने आदेश भएपछि त्यस्तो दर्ता बदर भएको समितिले जनाएको छ ।
हाल उक्त जग्गा भैरवी गुठीको नाममा कायम भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त भइसकेको समितिको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको आदेशबाट गुठीको जग्गा मन्दिरको सम्पत्ति भएको स्पष्ट भइसकेकाले अब सीमाङ्कन गरेर आफ्नो सम्पत्ति संरक्षण गर्ने र त्यसपछि जग्गा खाली गराउने प्रक्रियालाई अघि बढाइने बताए ।
करिब १९ रोपनी गुठी जग्गा
भैरवी मन्दिरको सम्पत्ति संरक्षण तथा संवर्द्धनका लागि लामो समयदेखि गुठी जग्गाको संरक्षण र व्यवस्थापनको विषय उठ्दै आएको छ ।
समितिका अनुसार धादिङबेसीमा रहेको भैरवी गुठीको जग्गा करिब १९ रोपनी रहेको बताइएको छ । सीमाङ्कनपछि गुठीको जग्गाको वास्तविक साँध–सिमाना स्पष्ट हुने र सम्पत्ति संरक्षण तथा व्यवस्थापनको प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
