
धादिङ । शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले गल्छी गाउँपालिकाका दुई विद्यालयमा सामूहिक विद्यालय अनुगमन, सुपरिवेक्षण तथा कक्षा अवलोकन गरेको छ ।
गल्छी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखासँगको समन्वयमा वागेश्वरी माध्यमिक विद्यालय र किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा विद्यालयको व्यवस्थापकीय अवस्था, शिक्षक तथा विद्यार्थीको उपस्थिति, कक्षा शिक्षण, अभिलेख व्यवस्थापन, परीक्षा तथा नतिजालगायत पक्षको अवलोकन गरिएको थियो ।
त्यस क्रममा दुवै विद्यालयमा विद्यालय सञ्चालन नियमित रहेको, शिक्षक तथा विद्यार्थीको उपस्थिति सन्तोषजनक रहेको तथा IEMIS अद्यावधिक, जिन्सी अभिलेख व्यवस्थापन र शिक्षक डायरीको प्रयोग भइरहेको पाइएको छ । सामाजिक तथा आर्थिक लेखापरीक्षण सम्पन्न हुनुका साथै विषयगत कार्यविभाजनसमेत लागू गरिएको अनुगमन टोलीले जनाएको छ ।
तर विद्यालय सुधार योजना (SIP) समयमै निर्माण तथा अद्यावधिक गर्नुपर्ने, गत वर्षको नतिजा विश्लेषण गरी सिकाइ सुधारका लागि विषयगत योजना बनाउनुपर्ने तथा कक्षामा स्थानीय र निर्मित शैक्षिक सामग्रीको प्रयोग बढाउनुपर्ने सुझाव टोलीले दिएको छ ।
त्यस्तै, विद्यार्थीलाई कक्षामा सक्रिय सहभागी गराउने विद्यार्थीकेन्द्रित शिक्षण विधि अपनाउन तथा लामो समयदेखि रिक्त शिक्षक दरबन्दीमा पदपूर्ति गर्न पनि सुझाव दिइएको छ ।
अनुगमन टोलीमा शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठ, शाखा अधिकृत विजय तामाङ तथा विषय विज्ञहरू सरोज खतिवडा, सुजन भण्डारी, देवेन्द्र अर्याल, शिवप्रसाद अधिकारी र धर्मराज अर्याल सहभागी थिए ।
अनुगमन टोलीले विद्यालयमा देखिएका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै सुधार गर्नुपर्ने पक्षमा तत्काल काम गर्न र प्रतिवेदन स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउन सुझाव दिएको छ ।
