धादिङका डा. राम थापा क्षेत्री नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ३०१ मत प्राप्त गर्दै विजयी

Avatar photo
Dhadingpost
साउन २६, २०८३

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका–३ शान्तबजारका स्थानीय चिकित्सक डा. राम थापा क्षेत्री नेपाल चिकित्सक संघको परिषद् सदस्यमा निर्वाचित भएका छन् ।

परिषद् सदस्य निर्वाचन २०८३ मा डा. क्षेत्रीले ३०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालका संस्थापक अध्यक्षसमेत रहेका डा. क्षेत्रीलाई स्वास्थ्य क्षेत्र तथा सामाजिक सेवामा सक्रिय चिकित्सकका रूपमा चिनिन्छ ।

को हुन् डा. राम थापा क्षेत्री ?

नीलकण्ठ–३ शान्तबजार निवासी डा. क्षेत्रीले MBBS राजशाही विश्वविद्यालय, बंगलादेशMHCM पोखरा विश्वविद्यालयबाट उत्तीर्ण गरेका छन् । उनी हाल स्वास्थ्य बीमा बोर्ड, बबरमहलमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् । साथै पोखरा विश्वविद्यालयको हेल्थ केयर म्यानेजमेन्ट विभाग र CTEVT मा समेत अध्यापन गर्दै आएका छन् ।

स्वास्थ्य क्षेत्रको नेतृत्व तथा सामाजिक सेवामा सक्रिय डा. क्षेत्री युवा डक्टर्स असोसिएसन (YDA) का संस्थापक सह–समन्वयक, नेपाल मेडिकल एसोसिएसनका पूर्व परिषद् सदस्य, DSON का पूर्व कार्यसमिति सदस्य र धादिङ हेल्थ सोसाइटीका पूर्व महासचिव हुन् ।

उनले हेटौंडा अस्पतालको अस्पताल प्रबन्धकका रूपमा समेत जिम्मेवारी सम्हालेका छन् । वीर अस्पताल, ट्रमा सेन्टर, TU MCVTC, श्री वीरेन्द्र अस्पताल छाउनी तथा इच्छाकामना आधारभूत अस्पतालमा पनि उनले सेवा अनुभव हासिल गरेका छन् ।

भूकम्प र कोरोना महामारीमा स्वास्थ्य स्वयंसेवक

डा. क्षेत्रीले २०७२ सालको भूकम्प, जाजरकोट भूकम्प तथा कोभिड–१९ महामारीका समयमा स्वास्थ्य स्वयंसेवकका रूपमा सक्रिय भएर सेवा गरेका थिए ।

उनको सामाजिक तथा स्वास्थ्य क्षेत्रमा अन्य सक्रियताअन्तर्गत नेपाल स्काउट्सका स्काउट मास्टर, आपतकालीन तथा मानसिक स्वास्थ्य सचेतना प्रशिक्षक, लायन्स क्लब अफ काठमाडौं लिडरशिपका उपाध्यक्ष तथा वर्ल्ड रग्बी मेडिकल डाक्टरको भूमिका पनि रहेको छ ।

विभिन्न पुरस्कार तथा सम्मान प्राप्त

डा. क्षेत्रीले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरेको योगदानका लागि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनले प्रबल जनसेवा श्री चतुर्थ, राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८०, Best Emerging Health Leader तथा Best e-media Influencer Award 2024 प्राप्त गरेका छन् ।

त्यसैगरी उनले भारतको चण्डीगढमा आयोजित International Public Health Management Development Program मा समेत सहभागिता जनाएका छन् ।

नेपाल चिकित्सक संघको परिषद् सदस्यमा निर्वाचित भएपछि डा. क्षेत्रीलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त भइरहेको छ ।