
काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदैछ । करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो सुरुङमार्गले काठमाडौं उपत्यकाको प्रवेशद्वार नागढुङ्गाको सवारी चाप घटाउनुका साथै यात्रा समय छोट्याउने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको विशेष उपस्थिति रहनेछ भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस आयोजनामा जापान सरकारको करिब १९ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारबाट जग्गा अधिग्रहण तथा मुआब्जा व्यवस्थापनसहित कुल २५ अर्ब रुपैयाँ खर्च भएको छ। आयोजना कार्यान्वयनका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो रहेको छ भने आपत्कालीन उद्धार तथा सुरक्षाका लागि २.५५ किलोमिटर लामो छुट्टै ‘रेस्क्यु टनेल’ निर्माण गरिएको छ । आधुनिक सुरक्षा प्रणालीसहित निर्माण गरिएको सुरुङमार्गले दुर्घटना तथा आकस्मिक अवस्थाको व्यवस्थापनलाई पनि सहज बनाउने विश्वास गरिएको छ ।
यस आयोजनाको शिलान्यास २०७६ कार्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, जग्गा मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले निर्माण कार्यमा ढिलाइ भएको थियो ।
शिलान्यासको करिब चार वर्षपछि २०८० साउन २२ गते सुरुङको ‘रेस्क्यु टनेल’ ब्रेकथ्रु सम्पन्न भएको थियो । त्यसपछि अन्तिम निर्माण, परीक्षण तथा सुरक्षा मापदण्ड पूरा गर्दै आजदेखि सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डमा हुने लामो जाम कम हुने, यात्रा समय घट्ने तथा इन्धन बचतसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।
