
काठमाडौं ।आज (साउन ६ गते) देशका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रणाली आजदेखि भने क्रमशः कमजोर हुँदै जाने अनुमान गरेको छ । यद्यपि देशभर आंशिकदेखि सामान्य बदली रहने र विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ ।
गएराति कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको थियो । पछिल्लो ६ घण्टाको विवरणअनुसार गण्डकी प्रदेशको तनहुँ र कोशी प्रदेशको संखुवासभामा सबैभन्दा बढी ५१ मिलिमिटर वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा अचानक जलसतह बढ्ने, र तराईका केही स्थानमा डुबान हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
