विश्वकप क्रिकेट लिग–२ मा नेपालको आज नामिबियासँग भिडन्त, शीर्ष चारको दौडमा महत्त्वपूर्ण खेल

Avatar photo
Dhadingpost
साउन ५, २०८३

धादिङपोष्ट | खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नामिबियाविरुद्ध आफ्नो अभियान सुरु गर्दैछ । नेदरल्यान्ड्समा भइरहेको त्रिदेशीय शृङ्खलाको पहिलो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

यस शृङ्खलामा नेपालसँगै आयोजक नेदरल्यान्ड्स र नामिबिया सहभागी छन् । नेपालले पहिलो खेलपछि साउन ७ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि साउन ११ गते फेरि नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।

हाल विश्वकप क्रिकेट लिग–२ को अंकतालिकामा नेपाल २४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहँदा नामिबिया २२ अंकका साथ सातौँ स्थानमा छ । अमेरिका शीर्ष स्थानमा, स्कटल्यान्ड दोस्रो र ओमान चौथो स्थानमा रहेका छन् ।

विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान सुरक्षित गर्न शीर्ष चारभित्र रहन आवश्यक भएकाले नेपालका लागि बाँकी सबै खेल निर्णायक मानिएका छन् । हालसम्म नेपालले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारको सम्भावना जीवित राखेको छ ।

कीर्तिपुरमा सम्पन्न पछिल्लो लिग–२ शृङ्खलामा नेपालले आठमध्ये ६ खेल जित्दै महत्वपूर्ण अंक बटुलेको थियो । सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यसहित कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली नेदरल्यान्ड्स पुगेको हो ।

विश्वकप क्रिकेट लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेल्ने व्यवस्था छ । नेपालका अझै आठ खेल बाँकी रहेकाले शीर्ष चारमा उक्लिने अवसर कायम छ । साथै, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाइराख्न नेपालले कम्तीमा शीर्ष ६ भित्र आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ ।