
धादिङ । धादिङबेसीको मुटु मानिने भानु पार्क अहिले अस्तव्यस्त र लथालिङ्ग अवस्थामा पुगेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सम्झनामा स्थापना गरिएको पार्क संरक्षणको अभाव, निर्माण सामग्रीको थुप्रो, भत्किएको संरचना तथा अव्यवस्थित वातावरणका कारण आफ्नो मौलिक स्वरूप गुमाउँदै गएको देखिएको छ ।
आज भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा. नवीन बन्दु पहाडी लगायत स्थानीय सरोकारवालाले पार्कमा पुगेर आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा पार्कको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो ।
भानु पार्कको विशेषता भनेको यसको शालिक माधव प्रसाद घिमिरेले अनावरण गरेका थिए । साहित्य, भाषा र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित यस पार्कको अहिलेको दुर्दशाले स्थानीयवासी तथा साहित्यप्रेमीलाई दुःखी बनाएको छ ।
भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा. नवीन बन्दु पहाडीले भानुभक्त नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताको साझा प्रतीक भएको उल्लेख गर्दै भने,
“भानुभक्त राष्ट्रियताको, भाषिक एकताको र सांस्कृतिक पहिचानको केन्द्र हुन् । उहाँको सम्मानसँग जोडिएको धादिङबेसीको भानु पार्क यस्तो अवस्थामा हुनु दुःखद हो। नीलकण्ठ नगरपालिकाले सदरमुकामको केन्द्रमा रहेको यस पार्कको दुर्दशा अन्त्य गरी व्यवस्थित, आकर्षक र सम्मानजनक रूपमा विकास गर्ने विश्वास लिएका छौं ।”
पार्क परिसरमा निर्माण सामग्री छरिएको, भत्किएका संरचना मर्मत नभएको, हरियाली व्यवस्थापन कमजोर भएको तथा आगन्तुकका लागि आवश्यक पूर्वाधारसमेत व्यवस्थित नरहेको देखिन्छ। यसले भानु जयन्तीजस्ता महत्वपूर्ण अवसरमा समेत पार्कको गरिमा घटाएको स्थानीयको भनाइ छ ।
स्थानीयवासी तथा साहित्यप्रेमीहरूले धादिङबेसीको पहिचानसँग जोडिएको भानु पार्कलाई तत्काल संरक्षण, सौन्दर्यीकरण र दीर्घकालीन व्यवस्थापन गर्न नीलकण्ठ नगरपालिकासँग माग गरेका छन् । उनीहरूको भनाइमा, राष्ट्रिय विभूतिको सम्मानसँग जोडिएको स्थललाई उपेक्षा गर्नु उचित नहुने भएकाले यसको पुनर्निर्माण र नियमित संरक्षणमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ ।
