
धादिङ । मनसुन सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेको भन्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जिल्लाका २१ स्थानलाई उच्च जोखिम क्षेत्र र १८ स्थानलाई होल्डिङ सेन्टरका रूपमा पहिचान गरेको छ ।
समितिको बैठकले गजुरी गाउँपालिकाअन्तर्गत चालिसे, परेवा भिर, पोखरे खोला, बिहानी पम्प, हिलटप, सातकिला र महादेवबेँसी, गल्छी गाउँपालिकाअन्तर्गत चिरौँदी पुल, महेशदोभान, सिमबजार र खेस्टेखोला, धुनीबेँसी नगरपालिकाअन्तर्गत खानीखोला, तिरतिरे धारा, ठूलो खोला र बाहुनेडाँडा, तथा बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत तिक्राङ खानी, सलाङघाट र कृष्णभिर लगायतका स्थानलाई पहिरो तथा सडक अवरोधको उच्च जोखिम क्षेत्रका रूपमा सूचीकृत गरेको हो ।
राजमार्ग अवरुद्ध भई यात्रु अलपत्र पर्ने अवस्था आउन नदिन जिल्लाका विभिन्न स्थानमा १८ वटा होल्डिङ सेन्टर सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ। खानीखोला, महादेवबेँसी, सोप्याङखोला, सिम्ले, महेडीखोला, गल्छी बैरेनी, गलौदी, चाम्वास, चिरौँदी बजार, मलेखु बजार लगायतका स्थानमा होल्डिङ सेन्टर स्थापना गरिनेछ । यस्ता केन्द्रमा यात्रु तथा स्थानीय नागरिकलाई सुरक्षित रूपमा राख्ने, आवश्यक परे राहत तथा प्राथमिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने समितिले जनाएको छ ।
होल्डिङ सेन्टरको सुरक्षा व्यवस्थापन सुरक्षा निकायले गर्नेछन् भने स्थानीय सरकारले व्यवस्थापकीय सहयोग गर्नेछन् ।
बैठकले मनसुन अवधिभर सबै स्थानीय तह, सरकारी कार्यालय, विकास आयोजना तथा सेवा प्रदायक निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । साथै विपद्को समयमा विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य तथा यातायात लगायत अत्यावश्यक सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
त्यसैगरी स्थानीय व्यवसायीलाई खाद्यान्न, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।
बैठकले धादिङबेँसी–धुवाकोट हुँदै नेत्रावती डबजोङ गाउँपालिका जोड्ने सडकका विभिन्न खण्ड पहिरोका कारण क्षतिग्रस्त भएकाले मर्मत सम्भारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय, हेटौँडासँग अनुरोध गर्ने निर्णय गरेको छ । साथै वर्षा र हावाहुरीका कारण ढल्ने विद्युत् पोल तथा अवरुद्ध हुने प्रसारण लाइनको तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ ।
