
धादिङ । कारागार र धादिङ अस्पताल पछाडिको क्षेत्रमा सेफ्टी ट्याङ्की लिकेज भई फोहोर पानी बग्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् । करिब १५ दिनदेखि दुर्गन्ध फैलिँदा दैनिक जनजीवन प्रभावित भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
स्थानीयका तर्फबाट राजन श्रेष्ठले प्रमुख जिल्ला अधिकारी, कारागार प्रमुख तथा नीलकण्ठ नगरपालिकामा लिखित रूपमा समस्या समाधानको माग गर्दै निवेदन दिएका छन् । उनका अनुसार अस्पताल पछाडिको क्षेत्रमा सेफ्टी ट्याङ्की लिकेज भई फोहोर पानी बगिरहेको छ भने दुर्गन्धका कारण त्यहाँ बसोबास गर्ने स्थानीय निकै प्रभावित भएका छन् ।
निवेदनपछि नीलकण्ठ नगरपालिकाले प्रारम्भिक रूपमा उक्त लिकेज धादिङ कारागारको सेफ्टी ट्याङ्कीबाट भएको हुन सक्ने उल्लेख गर्दै असार २२ गते नै कारागार कार्यालयलाई आवश्यक पहल गर्न पत्राचार गरेको जनाएको छ ।
यता, धादिङ कारागारका प्रमुख इन्द्र खतिवडाले भने लिकेज कारागारको हो वा अस्पतालको भन्ने विषय अझै यकिन हुन नसकेको बताएका छन् ।
उनका अनुसार प्राविधिक अध्ययनबिना कुनै निष्कर्षमा पुग्न नसकिने अवस्था रहेको छ । यदि प्राविधिक परीक्षणबाट कारागारकै सेफ्टी ट्याङ्की लिकेज भएको पुष्टि भएमा तत्काल मर्मत गरी समस्या समाधान गर्न कारागार प्रशासन तयार रहेको उनले बताए ।
प्रमुख खतिवडाले समस्या देखिएको स्थान कारागार परिसरबाट करिब २० मिटर टाढा रहेको उल्लेख गर्दै वास्तविक स्रोत पहिचानका लागि नीलकण्ठ नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग प्राविधिक टोली पठाई अध्ययन गरिदिन आग्रह गरिएको जानकारी दिए ।
स्थानीयवासीले भने लामो समयसम्म दुर्गन्ध र फोहोर पानी बगिरहँदा स्वास्थ्यमा असर पर्ने जोखिम बढेको भन्दै सम्बन्धित निकायले ढिलाइ नगरी वास्तविकता पत्ता लगाई समस्या समाधान गर्न माग गरेका छन् ।
