
धादिङ । शिक्षा विकास तथा समन्वय इकाई, धादिङले शैक्षिक सत्र २०८३ र २०८४ का लागि विषय विशेषज्ञहरूको अद्यावधिक सूची प्रकाशन गरेको छ ।
इकाईले सोमबार सूचना जारी गर्दै शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को व्यवस्था अनुसार प्राप्त निवेदनका आधारमा ५४ जना शिक्षकलाई विभिन्न तह र विषयका विषय विशेषज्ञका रूपमा सूचीकृत गरिएको जनाएको हो ।
इकाईका अनुसार यसअघि प्रकाशित सूचनाअनुसार प्राविधिक सहायता (प्र.अ.) तथा करार शिक्षक पदपूर्तिको व्यवस्थापनका लागि विषय विशेषज्ञहरूको सूची अद्यावधिक गर्न शिक्षकहरूबाट आवेदन आह्वान गरिएको थियो ।
तोकिएको समयभित्र प्राप्त निवेदनहरूको मूल्याङ्कनपछि असार १५ गतेको निर्णयअनुसार विषय विशेषज्ञहरूको सूची सार्वजनिक गरिएको हो ।
प्रकाशित सूचीअनुसार प्राथमिक तहमा १२ जना, निम्न माध्यमिक तथा प्राथमिक तहमा ११ जना, माध्यमिक, निम्न माध्यमिक एवं प्राथमिक तहमा ३१ जना गरी कुल ५४ जना शिक्षक विषय विशेषज्ञको सूचीमा सूचीकृत भएका छन् ।



