
धादिङ । गल्छी तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तर निर्धारण) परीक्षा सम्पन्न भएको छ ।
धादिङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष तथा थाक्रे तेक्वान्दो डोजाङका प्रमुख बिदुर बास्कोटाको विशेष उपस्थितिमा गत जेठ महिनामा सम्पन्न कालोपेटी प्रथम डान परीक्षामा सफल भएका खेलाडीहरूलाई औपचारिक रूपमा कालोपेटीबाट दीक्षित गरिएको थियो । कालोपेटी दीक्षान्तसँगै उनीहरूलाई तेक्वान्दोमा नयाँ जिम्मेवारी र उच्च स्तरको अभ्यासका लागि प्रेरित गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी, विभिन्न तेक्वान्दो प्रतियोगिता तथा बेल्ट परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई उपाध्यक्ष तथा ग्रेडिङ परीक्षा परीक्षक बिदुर बास्कोटाले प्रोत्साहनस्वरूप टिसर्ट प्रदान गरी सम्मान गरेका थिए।
कार्यक्रममा प्रशिक्षक, अभिभावक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार यस्ता ग्रेडिङ तथा सम्मान कार्यक्रमले खेलाडीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै अनुशासन, निरन्तर अभ्यास र उत्कृष्ट प्रदर्शनतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ ।
धादिङमा तेक्वान्दो खेलको विकास र नयाँ प्रतिभा उत्पादनमा गल्छी तेक्वान्दो डोजाङले नियमित रूपमा प्रशिक्षण तथा ग्रेडिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
