
धादिङ । धादिङ अस्पतालमा कुकुर, बाँदरलगायत जनावरले टोकेपछि लगाइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) विगत केही महिनादेखि अभाव हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् ।
अस्पतालमा खोप नहुँदा दैनिक रूपमा आउने बिरामीलाई तत्काल आवश्यक सेवा दिन कठिन भएको अस्पताल व्यवस्थापनले जनाएको छ । धादिङ अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाका अनुसार खोपको अभाव स्थानीय स्तरमा मात्र नभई देशव्यापी समस्या बनेको छ ।
“अस्पतालले आफ्नै पहलमा खरिद गर्ने प्रयास गर्दा पनि खोप उपलब्ध हुन सकेको छैन,” अध्यक्ष सापकोटाले भनिन् । “कुकुर वा अन्य जनावरले टोकेर आउने बिरामीलाई तत्काल टिटी (टिटानस) खोप लगाएर थप उपचार तथा एन्टी रेबिज खोपका लागि काठमाडौंस्थित टेकु अस्पतालमा रेफर गर्ने गरेका छौं ।”
सरकारले विश्वव्यापी मूल्यवृद्धि, दररेट समायोजनमा देखिएको समस्या तथा पश्चिम एशियामा जारी तनावका कारण खरिद प्रक्रिया प्रभावित भएकाले देशभर आवश्यक परिमाणमा एन्टी रेबिज खोप आपूर्ति गर्न कठिनाइ भएको जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीले विश्व स्वास्थ्य सङ्गठनसँग समन्वय गरी आकस्मिक रूपमा एन्टी रेबिज खोप उपलब्ध गराउने प्रयास भइरहेको बताएका छन् । यद्यपि, व्यवहारमा काठमाडौंको टेकु अस्पतालबाहेक अधिकांश सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा खोपको अभाव कायम रहेको सेवाग्राही र स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
धादिङ अस्पतालमा खोप नपाउँदा जिल्लाका विभिन्न स्थानबाट आउने बिरामीलाई थप उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता सिर्जना भएको छ । यसले बिरामी तथा उनीहरूका परिवारलाई अतिरिक्त आर्थिक भार र समयको समस्या थपिएको स्थानीयले बताएका छन् ।
