नीलकण्ठ नगरपालिकामा विद्यालय दिवा खाजा कार्यक्रमसम्बन्धी दुई दिने अभिमुखीकरण सुरु

Avatar photo
Dhadingpost
असार ९, २०८३

धादिङ । नीलकण्ठ नगरपालिकाले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

असार ९ गतेदेखि सुरु भएको उक्त कार्यक्रम असार १० गतेसम्म सञ्चालन हुने नगर कार्यपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका मेघनाथ कोइरालाले जानकारी दिएका छन् । कार्यक्रममा नीलकण्ठ नगरपालिकाभित्रका ७६ वटा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको छ ।

अभिमुखीकरणमा स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न तथा कृषि उपजको उपयोग गरी विद्यालय दिवा खाजालाई थप पोषणयुक्त, सुरक्षित र प्रभावकारी बनाउने विषयमा छलफल तथा सहजीकरण गरिएको छ । साथै कार्यक्रमको प्रभावकारी कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा विद्यालयको भूमिकाबारे सहभागीहरूलाई जानकारी गराइएको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत प्रकाश दत्त भट्ट र मनोपरामर्शदाता रामकुमार थापाले सहजीकरण गरिरहेका छन् । उहाँहरूले विद्यालय दिवा खाजा कार्यक्रमले विद्यार्थीको पोषण, स्वास्थ्य र नियमित उपस्थितिमा सकारात्मक प्रभाव पार्ने भएकाले स्थानीय उत्पादनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नगरपालिकाले यस्ता अभिमुखीकरण कार्यक्रममार्फत विद्यालयस्तरमा गुणस्तरीय तथा पोषणयुक्त दिवा खाजा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा राखेको जनाएको छ ।