
धादिङ । नीलकण्ठ नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले हालसम्म दिवाखाजा कार्यक्रमसम्बन्धी आवश्यक विवरण पेस नगर्ने ५० वटा विद्यालयका प्रधानाध्यापकलाई नीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद शाखाले चेतावनी दिएको छ ।
शाखाले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र विवरण नबुझाएका कारण सम्बन्धित विद्यालयको दिवाखाजा रकम निकासा प्रक्रिया रोकिए वा अन्य प्रशासनिक जटिलता आए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयका प्रधानाध्यापक स्वयंले वहन गर्नुपर्ने उल्लेख गरिएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार वडा नं. १ देखि १४ सम्मका विभिन्न आधारभूत तथा माध्यमिक विद्यालयहरूले हालसम्म दिवाखाजा कार्यक्रमको विवरण बुझाएका छैनन् । ती विद्यालयमा प्रकाश माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, महेन्द्रोदय कालिका माध्यमिक विद्यालय, भैरवी माध्यमिक विद्यालय, देउराली माध्यमिक विद्यालय, शंखादेवी माध्यमिक विद्यालय, मञ्जुश्री माध्यमिक विद्यालय, साङकोष माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, मनरूपी माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालयलगायत ५० वटा विद्यालय रहेका छन् ।
शिक्षा तथा खेलकुद शाखाले सम्बन्धित सबै विद्यालयलाई यथाशीघ्र आवश्यक विवरण पेस गरी दिवाखाजा कार्यक्रमको निकासा प्रक्रिया सहज बनाउन आग्रह गरेको छ । साथै सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी व्यवस्थापनका लागि विद्यालयहरूले समयमै प्रतिवेदन तथा विवरण उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

