
धादिङ । नेशनल प्याब्सन धादिङको आयोजनामा नेपाली विषयका शिक्षकहरूका लागि एक दिने पेशागत विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा जिल्लाका ९ वटा विद्यालयबाट ३२ जना नेपाली शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहजीकरण प्रसिद्ध प्रकाशनका लेखक तथा विषय विज्ञहरू नारायण प्रसाद खतिवडा र लालमणी पन्थी ले गर्नुभएको थियो । उनीहरूले नवप्रवर्तन शिक्षण विधि, अन्वेषणात्मक शिक्षण विधि तथा प्रोग्रेसिभ सिकाइका आधुनिक अभ्यासहरूबारे विस्तृत प्रशिक्षण दिएका थिए । साथै, कक्षाकोठामा विद्यार्थी केन्द्रित नयाँ शिक्षण विधि अपनाउनुपर्नेमा विशेष जोड दिइएको थियो ।
समापन समारोहमा कार्यक्रमका सभापति तथा नेशनल प्याब्सन धादिङ का अध्यक्ष प्रयास रेग्मी ले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष नारायणकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष रेग्मीले यस्ता तालिमले शिक्षकहरूको पेशागत पुनर्ताजगी हुने र सिकेका सीपलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै, भोलिका दिनमा विज्ञान विषयको तालिम समेत सञ्चालन गरिने जानकारी पनि उहाँले दिनुभयो ।
तालिमलाई सहभागी शिक्षकहरूले उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन् ।
