
धादिङ । पतञ्जलि महिला योग समिति धादिङको एक टोलीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम)सँग शिष्टाचार भेटघाट गरेको छ ।
समितिकी प्रभारी राममाया बुढाथोकीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर स्वागत तथा भेटघाट गरेको हो ।
भेटका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले योग मानव जीवनका लागि आवश्यक अभ्यास भएको उल्लेख गर्दै धादिङमा योगको प्रवर्द्धन र विस्तारमा समितिले खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले योगसम्बन्धी कार्यक्रम तथा गतिविधिलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
समितिले पनि जिल्लामा सञ्चालन भइरहेका योग तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रमबारे जानकारी गराएको थियो । भेटमा योगलाई समुदायस्तरसम्म विस्तार गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि सहकार्यको आवश्यकताबारे समेत छलफल भएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डे हालै मात्र धादिङमा सरुवा भई पदस्थापन भएकी हुन् ।
