
धादिङ । विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभाको खोजी, पहिचान र प्रस्फुटन गर्ने उद्देश्यले एडभान्स एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘पोइन्ट आइडलकाे यस वर्षको संस्करण उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै काव्य अर्याल ले ‘पोइन्ट आइडल–२०८३’ को उपाधि जित्न सफल भएका छन् । विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै उनले निर्णायक र दर्शक दुवैको मन जित्दै शीर्ष स्थान हासिल गरेका हुन् ।
कक्षा ७ देखि ९ समूहअन्तर्गत भएको प्रतिस्पर्धामा काव्य अर्याल प्रथम, गीता यादव मगर द्वितीय तथा प्रशंसा थापा मगर तृतीय भएका छन् । त्यस्तै कक्षा ४ देखि ६ समूहमा समिरा गुरुङ प्रथम, मनसुन तामाङ द्वितीय र अञ्जली तुमसिम मगर तृतीय घोषित भए ।
कक्षा १, २ र ३ समूहका रिवांश सेढाई, गंगा यादव मगर र अनिस रोकाया ले समेत उत्कृष्ट कविता वाचन प्रस्तुत गर्दै उपस्थित दर्शकहरूको प्रशंसा बटुलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रकाश पौडेलले प्रतियोगिताको निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा विजयी विद्यार्थीहरूलाई कार्यक्रमका सभापति र प्रमुख अतिथिले प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरेका थिए ।
विद्यालयले यस्ता सिर्जनात्मक तथा प्रतिभामूलक कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता विकास, सिर्जनशीलता प्रवर्द्धन र अतिरिक्त क्रियाकलापप्रति सक्रिय सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
एडभान्स एकेडेमीले विगतदेखि नै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै शैक्षिक गतिविधिसँगै विभिन्न प्रतिभा प्रस्फुटन कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘पोइन्ट आइडल–२०८३’ पनि त्यही अभियानको एक महत्वपूर्ण कडीका रूपमा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ ।
