आरुघाटमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा मापन

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०८३

धादिङ । गएराती धादिङको आरुघाट क्षेत्रमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा मापन भएको छ । लगातारको वर्षासँगै जिल्लाका विभिन्न खोलानाला तथा नदीमा पानीको सतह बढ्न थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ । मौसममा आएको बदलीका कारण सडक यात्रा तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

लगातार वर्षाका कारण नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले समेत अनुरोध गरेको छ । तस्वीरः धादिङबेसी