धादिङमा आजदेखि जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु, ८ टिम प्रतिस्पर्धामा

Avatar photo
Dhadingpost
बैशाख ४, २०८३

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित विशाल खेलमैदानमा आजदेखि जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आज बिहान ९ बजे गरेका छन् ।

जिल्लाका ८ पालिकाबीच प्रतिस्पर्धा हुने प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक रहेका छन् भने समूह ‘बी’ मा गजुरी, नीलकण्ठ, धुनीबेसी र गल्छी परेका छन् ।

सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेल बेनीघाट रोराङ र त्रिपुरासुन्दरीबीच हुँदैछ । त्यस्तै दोस्रो खेलमा ज्वालामुखी र सिद्धलेकबीच प्रतिस्पर्धा हुनेछ ।

जिल्ला स्तरमै क्रिकेट खेलको विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।