गंगाजमुना कक्षा ८ नतिजा सार्वजनिक, उत्कृष्ट र कमजोर विद्यालयबीच ठूलो अन्तर

Avatar photo
Dhadingpost
चैत्र २५, २०८२

धादिङ । गंगाजमुना गाउँपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गाउँपालिकाभरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा लिइएको परीक्षामा समग्र उत्तीर्ण प्रतिशत ५१.९१ रहेको छ ।

जम्मा २३५ विद्यार्थी सहभागी भएको परीक्षामा १२२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विषयगत रुपमा अंग्रेजीमा २१, गणितमा ८८, विज्ञानमा ४१ र सामाजिक विषयमा २१ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

विद्यालयगत नतिजा हेर्दा हिलेपोखरी आधारभूत विद्यालय र शिवालय माध्यमिक विद्यालयले शतप्रतिशत (१००%) नतिजा ल्याएका छन् । महेन्द्ररत्न माध्यमिक विद्यालयले ९० प्रतिशत नतिजा ल्याएको छ भने सितालदेवी आधारभूत विद्यालयको नतिजा ७७.७८ प्रतिशत रहेको छ।

त्यस्तै, ठूलो संख्यामा विद्यार्थी सहभागी भएको रीगाउँ माध्यमिक विद्यालयमा ५९.३८ प्रतिशत, महालक्ष्मी माध्यमिक विद्यालयमा ५७.१४ प्रतिशत र मण्डली माध्यमिक विद्यालयमा ५६.४१ प्रतिशत नतिजा देखिएको छ ।

अन्य विद्यालयहरुमा कल्याण माध्यमिक विद्यालयले ५० प्रतिशत, सातथर माध्यमिक विद्यालयले ४२.८६ प्रतिशत, बद्रीविशाल माध्यमिक विद्यालयले ३६.८४ प्रतिशत र पासाङचोक माध्यमिक विद्यालयले ३६.६७ प्रतिशत नतिजा ल्याएका छन् ।

त्यसैगरी, बसेरी माध्यमिक विद्यालयमा २९.४१ प्रतिशत, तामाङखर्क माध्यमिक विद्यालयमा २६.३२ प्रतिशत र चिमचोक माध्यमिक विद्यालयमा सबैभन्दा कम २० प्रतिशत नतिजा देखिएको छ।

गाउँपालिकाले उतिर्ण हुन नसकेका विद्यार्थीहरुका लागि बैशाख ७ गते देखि पुरक परिक्षा संचाल गर्ने भएको छ ।