
धादिङ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको ८औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले अध्यक्षमा स्याङ्जा वालिङका अमर श्रेष्ठलाई निर्वाचित गरेको छ भने उनका प्रतिस्पर्धी धादिङका शिव ओझा पराजित भएका छन् ।
चैत्र १३ र १४ गते सम्पन्न निर्वाचनमा अमर श्रेष्ठले ७ सय ३७ मत प्राप्त गर्दा शिव ओझाले ५ सय ९७ मत ल्याएका थिए । यससँगै श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा धादिङ नीलकण्ठ ८ का हेमराज श्रेष्ठ विजयी भएका छन् । उनले ७ सय ३९ मत ल्याउँदा काभ्रेका राजु सत्याल ले ५ सय ९१ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष पदमा काठमाडौं चन्द्रागिरीका राजन श्रेष्ठ ७ सय ४७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठले ५ सय ८० मत ल्याएका थिए । विजयी तीनै जना अमर श्रेष्ठ समूहका उम्मेदवार हुन्।
समितिको १९ पदाधिकारीमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष गरी ३ पदमा मात्र निर्वाचन भएको थियो भने बाँकी पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
सर्वसम्मत चयन हुने पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष रत्नमणि पाठक, द्वितीय उपाध्यक्ष कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष मनोज कार्की, सचिव प्रदीप बस्नेत, सहसचिव दीपेन्द्र थापा, सह-कोषाध्यक्ष सविनकुमार राई रहेका छन् ।
यस्तै सदस्यहरूमा साजन पौडेल, प्रविण श्रेष्ठ, साबिका त्वानाबासु, राजेन्द्र लामा, राजेश अकौलिया, बैकुण्ठ प्याकुरेल, राजु रेग्मी, प्रमोद थापा, विष्णुबहादुर क्षेत्री र राजु पौडेल सर्वसम्मत चयन भएका छन् ।
नयाँ कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय सुदृढीकरण र संगठन सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
