
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्यापिड एक्सन टिम (र्याट) विभागले धादिङ–काठमाडौं सार्वजनिक यातायातको भाडादरमा असमानता भएको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङको ध्यानाकर्षण गराएको छ।
र्याट का संयोजक दीपक अधिकारीद्वारा जारी पत्रमा वैज्ञानिक भाडादर लागू गर्ने नाममा यात्रुहरूमाथि अन्यायपूर्ण रूपमा भाडा वृद्धि गरिएको उल्लेख गरिएको छ ।
पत्रअनुसार, २०८३ वैशाख १९ गतेदेखि लागू गरिएको नयाँ भाडादरमा इन्धन मूल्य वृद्धिलाई आधार बनाएर १६.७१ प्रतिशत र थप ५ प्रतिशत भाडा वृद्धि गरिएको जनाइएको छ । तर, धादिङबेसी–काठमाडौं र धादिङ–आरुघाटको भाडादरमा समानता नरहेको भन्दै प्रश्न उठाइएको छ।
र्याट ले धादिङबेसीदेखि काठमाडौंसम्म करिब ९६ किलोमिटर दूरीको भाडा ४३० रुपैयाँ कायम गरिएको अवस्थामा धादिङबेसीदेखि आरुघाटसम्मको भाडा पनि सोही दरमा कायम गरिनु अस्वाभाविक भएको जनाएको छ । पत्रमा धादिङबेसीदेखि आरुघाटसम्म करिब ३७.९ किलोमिटर दूरी मात्र रहेको र अधिकांश सडक कालोपत्रे भइसकेको उल्लेख गरिएको छ।
“९६ किलोमिटर र ३७.९ किलोमिटर दूरीको भाडा एउटै कसरी कायम गरियो ?” भन्दै रास्वपाले तत्काल स्पष्टिकरणसहित दूरीअनुसार वैज्ञानिक भाडादर कायम गर्न माग गरेको छ ।
र्याट ले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित यातायात व्यवसायी संस्था तथा निकायलाई निर्देशन दिई यात्रुहरूलाई सहज र न्यायोचित भाडादर सुनिश्चित गर्न आग्रह गरेको छ ।
