धादिङमा खेलकुद स्मारिका प्रकाशन हुँदै, खेलाडीलाई विवरण दर्ता गर्न आग्रह

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०८३

धादिङ । धादिङ जिल्ला खेलकुद विकास समितिले जिल्लाको खेलकुद इतिहास, विकासक्रम तथा खेलाडीहरूको अभिलेखलाई संस्थागत गर्ने उद्देश्यसहित विशेष खेलकुद स्मारिका प्रकाशन गर्ने भएको छ । स्मारिकाका लागि विभिन्न खेल विधामा योगदान दिएका खेलाडीहरूको विवरण संकलन सुरु गरिएको समितिले जनाएको छ ।

समितिद्वारा जारी सूचनाअनुसार जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आधिकारिक प्रतियोगितामा सहभागिता जनाएका धादिङका खेलाडीहरूको नामावली तथा उपलब्धि स्मारिकामा समावेश गरिनेछ । यसका लागि सम्बन्धित खेलाडीलाई आवश्यक कागजातसहित आफ्नो विवरण दर्ता गराउन आग्रह गरिएको छ ।

समितिले फुटबल, क्रिकेट, तेक्वान्दो, उसु, एथलेटिक्स, भलिबल, कराते लगायत सबै खेल विधाका खेलाडीहरूलाई सूचिकृत हुन अनुरोध गरेको छ । सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र समितिको कार्यालयमा उपस्थित भई वा तोकिएको माध्यममार्फत विवरण पठाउन सकिने जनाइएको छ ।

दर्ताका लागि सम्बन्धित प्रतियोगितामा सहभागिताको आधिकारिक प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइज फोटो, नेपाली नागरिकता वा जन्मदर्ताको प्रतिलिपि तथा खेल जीवनको छोटो परिचय (बायोडाटा) अनिवार्य गरिएको छ ।

समितिका अध्यक्ष प्रताप सिं तामाङद्वारा हस्ताक्षरित सूचनामा आवश्यक प्रमाण नपुगेका वा म्याद नाघेर आएका विवरणलाई स्मारिकामा समावेश गर्न नसकिने उल्लेख गरिएको छ ।

समितिले यस अभियानले धादिङको खेलकुद इतिहास संरक्षण, खेलाडीहरूको अभिलेखीकरण तथा नयाँ पुस्तालाई प्रेरणा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।