नेपाली कांग्रेस धादिङद्वारा समाचारप्रति आपत्ति

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०८२

धादिङ । नेपाली कांग्रेस धादिङले ‘दियोपोस्ट’ अनलाइनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश प्रसाद धमला सम्बन्धमा विगत केही दिनदेखि प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कांग्रेस धादिङले विज्ञप्तिमार्फत असन्तुष्टि व्यक्त गरेको हो ।

पार्टीले सञ्चारमाध्यमको जिम्मेवारी सत्यतथ्य सूचना जनतामाझ पुर्‍याउनु रहेको उल्लेख गर्दै जनताको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता तथा जिम्मेवार पत्रकारिताको पक्षमा नेपाली कांग्रेस सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

विज्ञप्तिमा उम्मेदवार धमलाको चरित्र हत्या गर्ने, जनतामा भ्रम फैलाउने तथा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले योजनाबद्ध रूपमा समाचार सम्प्रेषण गरिएको आरोप लगाइएको छ । यस्तो कार्य पत्रकारिताको गरिमा र मर्यादाविपरीत भएको भन्दै कांग्रेस धादिङले निन्दा तथा खेद प्रकट गरेको छ ।

पार्टीले नेता धमलाले प्रजातन्त्र पुनर्स्थापनादेखि विभिन्न राजनीतिक आन्दोलन, संगठन निर्माण, जनअधिकार स्थापना तथा विकास निर्माणमा योगदान पुर्‍याएको उल्लेख गर्दै तथ्यहीन र आधारहीन समाचारबाट भ्रमित नहुन मतदातासँग आग्रह गरेको छ ।

कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरिएको हो ।

x